एमाले–माओवादीका महिला तर कांग्रेसका पुरुष पनि समानुपातिक सांसद बन्न पाउने
काठमाडौं : समानुपातिकबाट एमाले र माओवादी केन्द्रले अधिकांश महिलालाई सांसद बनाउनुपर्ने भएको छ भने कांग्रेसबाट आधाजसो पुरुषले सांसद बन्ने मौका पाउँदैछन् । निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना आइतबार सम्पन्न गरेसँगै समानुपातिकबाट सांसद बन्नेहरूको चर्चा चल्न थालेको हो । एमालेले प्रत्यक्षतर्फ ८० सिट जिते पनि जम्माजम्मी दुई जना मात्रै महिला सांसद बनेकाले समानुपातिकमा महिलालाई स्थान दिनुपर्ने अवस्था छ। समानुपातिकतर्फ एमालेले ४१ सिट पाउने देखिएको छ ।
३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउनैपर्ने संवैधानिक बाध्यताका कारण उसले समानुपातिकतर्फ अधिकांश महिलालाई सांसद बनाउनुपर्ने भएको हो। प्रत्यक्ष र समानुपातिक गरी कुल १ सय २१ सिट जितेको एमालेले ३९ जना महिलालाई समानुपातिकबाट सांसद बनाउनुपर्ने हुन्छ। दुई जना प्रत्यक्षमा जितिसकेकाले एमालेले अब ३७ जना महिलालाई समानुपातिकबाट ल्याउनुपर्छ। प्रत्यक्षतर्फ निकै खस्केको कांग्रेसले समानुपातिकतर्फ भने राम्रै मत पाएको छ ।
प्रत्यक्षतर्फ २३ सिट जितेको उसले समानुपातिकतर्फ एमालेभन्दा एक मात्र कम सिट पाउने भएको छ। दुवै चुनावी प्रणालीबाट ६३ सिट जितेको कांग्रेसबाट समानुपातिकबाट भने आधाजसो पुरुष उम्मेदवारले सांसद बन्ने मौका पाउने भएका छन्। उसले समानुपातिकबाट २१ महिला र १९ पुरुषलाई सांसद बनाउन पाउने भएको छ। प्रत्यक्षतर्फ दोस्रो दल बने पनि समानुपातिकबाट भने माओवादी केन्द्र तेस्रो दल बन्न पुगेको छ। माओवादी केन्द्रले १७ सांसद पाउने देखिएको छ। प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ गरी उसले ५३ सिट हासिल गर्दै छ। माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ तीन महिला सांसद बनिसकेकाले समानुपातिकबाट १४ महिलालाई सांसद बनाउनुपर्ने हुन्छ।
त्यसो गर्दा जम्मा तीन जना पुरुषले मात्र माओवादीबाट सांसद बन्ने मौका पाउनेछन्। ‘एमालेले ४१, कांग्रेसले ४० र माओवादी केन्द्रले १७ सिट पाउने प्रारम्भिक अवस्था देखिन्छ,’ निर्वाचन आयोगका समानुपातिक विज्ञ देवेन्द्र काररञ्जितले भने, ‘यो हिसाबमा खासै तलमाथि हुन्न।’ दुई क्षेत्रीय दल राजपा र संघीय फोरमले समानुपातिकतर्फ ६र६ सिट पाउने भएका छन्। प्रत्यक्षतर्फ फोरमले ११ र राजपाले १० सिट जितेका छन्। दुवै दलबाट जित्ने सबै पुरुष भएकाले समानुपातिकबाट उनीहरूले ३३ प्रतिशत महिलाको स्थान पूर्ति गर्नुपर्छ भन्दै अन्नपुर्णपोष्टमा खबर छ ।
फोरमले समानुपातिकतर्फ सबै ६ सिट नै महिलाका लागि छुट्याउनुपर्ने हुन्छ भने राजपाले एक जना मात्र पुरुषलाई समानुपातिकबाट सांसद बनाउन पाउने सम्भावना छ। समानुपातिकविज्ञ काररञ्जितका अनुसार एमाले र माओवादी केन्द्रले प्रत्यक्षतर्फ धेरै सिट जिते पनि महिलाको संख्या कम भएकाले समानुपातिकमा महिलालाई धेरै सिट छुट्याउनुपर्ने र कांग्रेसले कम सिट जितेकाले पुरुषले बढी स्थान पाउने अवस्था छ। समानुपातिकतर्फ तीन प्रतिशत मत कटाउन नसकेका दलले भने समानुपातिकमा सिट नपाउने भएका छन् ।