प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने कांग्रेस नेताको माग
‘माओवादी ‘गार्जियन’ बन्नुपर्छ, एमालेको पिछलग्गु बन्नु हुँदैन’
काठमाडौँ : खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले मुलुकलाई निकास दिन र संविधान कार्यान्वयनको अग्रगमन पथलाई सही ढंगले डोर्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्रै सक्ने भएकोले उनी प्रधानमन्त्री बन्नुपर्ने र त्यसलाई कांग्रेसले स्वीकार्ने बताएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका यादवले यादवले एमालेले उपलब्धिलाई गुमाउन सक्ने आरोप लगाउँदै त्यसबाट बचाउनको लागि पनि देशको अभिभावकको भूमिकामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउनुपर्ने धारणा राखे । ‘प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो भने सबैलाई समेटेर लैजान सक्नुहुन्छ, परिवर्तनकारी उपलब्धिहरु संस्थागत हुन्छन्, उहाँबाट मात्रै यी उपलब्धिहरु रक्षा हुन सक्छन्, उहाँ आफैँ प्रधानमन्त्रीको रुपमा अघि बढ्नुपर्छ, हाम्रो पूर्ण समर्थन रहन्छ ।’
बिहीबार रिपोर्ट्र्स क्लबमा बोल्दै मन्त्री यादवले मुलुक अग्रगमनको बाटोमा अघि बढिसकेकोले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने परिवर्तनका उपलब्धिहरु सबै गुम्नसक्ने आरोप लगाए । ‘निर्वाचन भएर मुलुक संविधानको पूर्ण कार्यान्वयनको चरणमा छ, यो अग्रगमनको बाटो अब अघि बढिसक्यो, अब पछि हट्ने कुनै संभावना छैन,’ उनले भने, ‘उत्ताउलो भएर केही चल्दैन, परिवर्तनका एजेण्डाहरुलाई संस्थागत रुपमा कार्यान्वयन गर्न पनि माओवादी केन्द्रले अब ‘गार्जियन’ को भूमिका निर्वाह गर्नुपर्छ, उहाँहरुकै कारणले संघीयता, गणतन्त्र, समावेवशीजस्ता परिवर्तनका मुद्दाहरु स्थापित भएका छन्, माओवादी एमालेको पिछलग्गु हुनुहुँदैन, किनकी एमाले त यी सबै उपलब्धिहरु गुमाउने तरखरमा छ ।’
उनले एमाले अध्यक्ष ओलीलाई भड्काउ नेताको रुपमा चित्रण समेत गरे। ‘ओलीजी अतिवादी कुरा गर्ने नेता हो, उहाँ दुई वटा कुरा गर्नुहुन्छ, देशलाई त अहिले सबैलाई मिलाएर लैजान सक्ने नेता चाहिएको छ, त्यो भनेको प्रचण्ड हो, उहाँले मात्रै सबैलाई मिलाएर लैजान सक्नुहुन्छ भन्ने हाम्रो विश्वास हो ।’ उनले विगतमा प्रचण्डको भूमिकाले पनि सबैलाई समेटेर लैजान सक्ने विश्वास पैदा गरिसकेकोले अब पनि मुलुकलाई उनकै नेतृत्वमा वा अभिभावकीय भूमिकामा प्रचण्ड नै आउनुपर्ने जिकिर गरे । यादवले भने, ‘प्रचण्डजी सहनशील, अनुभवी, स्थिर, नआत्तिने र मुलुक र जनताप्रति अति नै संवेदनशील र जिम्मेवार नेता हुनुुहुन्छ, त्यसैले उहाँ गार्जियन बन्नुपर्छ, प्रधानमन्त्री बन्नुपर्छ ।’
यादवले निर्वाचनमा कांग्रेसले पराजय भोग्नुको प्रमुख कारण नै आफूहरुले हिमाल, पहाड र तराईलाई मिलाएर लैजान खोज्नुले भएको उल्लेख गर्दै भने, ‘कांग्रेस हार्नुको प्रमुख कारण भनेको नै हामीले सबैलाई मिलाएकोले हो, हामीले कतैपनि अतिवादी कुरा गरेनौं, एमालेले पहाडको अतिवादी कुरा गर्यो, मधेशवादी दलहरुले मधेशको अतिवादी कुरा गरे, तर हामीले सबैलाई मिलायौं, यही कारणले पराजय भोग्यौं, सबैलाई मिलाउनुपर्छ भन्ने कांग्रेसको हार भयो, तर अतिवादीहरुको विजयी भयो, हामी आत्तिएका छैनौं ।’
नेता यादवले कांग्रेसभित्र अहिले बाहिर चर्चा भएजस्तो कुनै विवाद र मतभेद नरहेको समेत जिकिर गरे । ‘पार्टी सभापति शेरबहादुर देउवाजीको विकल्प छैन, त्यतिमात्रै होइन अहिले कुनै विशेष महाधिवेशनको पनि आवश्यक नै छैन,’ उनले थपे । मन्त्री यादवले चुनावको समीक्षा र भावी रणनीति तय गर्नेबारे बरु छिट्टै महासमिति बैठक बस्ने र उक्त बैठकले पार्टीलाई कसरी सुधार गरेर लैजाने भन्नेबारे छलफल हुने जानकारी दिए ।
युवा नेता गगन थापाप्रति लक्षित गर्दै यादवले भने, ‘युवा भनाउँदा कुनै पनि नेताहरुले भनेजस्तो अहिले नेतृत्व परिवर्तन हुँदैन, यो उनीहरुको व्यक्तिगत विचार हो, पार्टीमा अहिले देउवाको विकल्प नै छैन, म दावाका साथ भन्छु, अर्को महाधिवेशन नहुँदासम्म देउवाजी नै सभापति हो, गगन थापाले एक्लै हटाउने हो र? गगन थापामात्रै युवा होइन, म पनि त युवा नै हो नि ।’ अहिलेको चुनावमा कुनैपनि दलको स्पष्ट बहुमत नआएको उल्लेख गर्दै यादवले भने, ‘कुनैपनि दलको स्पष्ट बहुमत आएको छैन, एमालेको बहुमत आयो भनेर हल्ला फैलाइएको छ, वाम गठबन्धनको वा कम्युनिष्टहरुको दुई तिहाई आएको भनिएको छ, समानुपातिक मतपरिणामको रुझान हेर्दा कांग्रेस नै दोस्रो ठूलो दल बन्छ।’
उनले सरकार संविधान अनुसार नै नयाँ प्रधानमन्त्री बनेपछि ह्याण्डओभर हुने भन्दै कसैलाई पनि चिन्ता नलिन आग्रह गरे । उनले थपे, ‘संविधान अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा कुल मिलाएर एक केन्द्रीय संसद बन्छ, यो पूर्ण हुनको लागि नै ४५ दिन लाग्छ, त्यतिका दिनसम्म के चुप लागेर बस्ने हो त?’ उनले कसैको विरोधका कारण गर्भनर नियुक्ति नरोकिने समेत स्पष्ट पारे।