Logo
३१ भाद्र २०८१, सोमबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एउटा बैंकले ढिलाइ गरे अर्कोले खोल्न पाउने

काठमाडौं :  बैंकले आफूले खोल्न चाहेको स्थानीय तहमा शाखा सञ्चालनमा ढिलाइ गरे अर्कोले अवसर पाउने भएको छ । यथाशीध्र शाखा स्थापना गर्न निर्देशन दिए पनि बैंकहरूले ढिलाइ गर्न थालेपछि राष्ट्र्र्र बैंक बैंकिङ कार्यालयले दोस्रो बैंकलाई अनुमति दिन थालेको हो । राष्ट्र बैंकले यसअघि नै स्थानीय तहमा एउटा बैंकले शाखा सञ्चालन गरिसकेपछि कम्तीमा तीन वर्ष अर्को बैंकले शाखा सञ्चालन गर्न नपाउने व्यवस्था ल्याएको थियो । सोही व्यवस्थाअनुसार स्थानीय तहमा शाखा सञ्चालन गर्न राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन जारी गरिसकेको छ ।

अहिले आफ्नै नीतिमा परिवर्तन गरी राष्ट्र बैंक बैंकिङ कार्यालयले यथाशीध्र शाखा स्थापना गरेर मात्र सरकारी कारोबारका लागि अनुमति लिन आउनु भन्दै पत्राचार गरेको छ । यसअघि सरकारको निर्देशनअनुसार हरेक स्थानीय तहमा कम्तीमा एउटा शाखा स्थापना गर्न राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई आग्रह गरेको थियो । सोही आग्रहबमोजिम बैंकर्स संघको समन्वयमा बैंकहरूले सम्भाव्य स्थानीय तह छनोट गरी राष्ट्र बैंकलाई बुझाएका थिए । बैंकहरूले आफूले प्रस्ताव गरेको स्थानीय तहमा पनि शाखा स्थापनामा आनाकानी गर्न थालेपछि जसले छिटो शाखा स्थापना गर्छ उसैलाई अनुमति दिन थालिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

‘स्थानीय तहमा शाखा स्थापनाका लागि राष्ट्र्र्र बैंकको पूर्वस्वीकृति चाहिँदैन,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तर, बैंकहरूले शाखा स्थापना नगरी सरकारी कारोबार गर्न स्वीकृति माग गरिरहेका छन् । यसबाट उनीहरूले तत्काल शाखा स्थापना नगरी प्रस्तावित स्थान सुरक्षित गर्न मात्र चाहेको देखिन्छ ।’ यसकारण राष्ट्र्र्र बैंकले शाखा स्थापना भएपछि मात्र सरकारी कारोबारका लागि स्वीकृति लिन आउन भनिएको एक उच्च अधिकारीले बताए ।

शाखा स्थापना नगरी सरकारी कारोबारका लागि स्वीकृति लिन आउने बैंकहरूलाई राष्ट्र बैंक बैंकिङ कार्यालयले पत्रमार्फत शाखा सञ्चालनपछि (शाखा कोडसहित) आउन आग्रह गर्दै आएको छ । ‘शाखा सञ्चालनको जानकारी प्राप्त भएपछि मात्र सरकारी कारोबारका लागि अनुमतिको प्रक्रिया अघि बढाइने निर्णय भएको छ,’ पत्रमा भनिएको छ, ‘बैंकहरूले यथाशीध्र शाखा स्थापना गरी ‘शाखा कोड’ सहित जानकारी दिनुहुन अनुरोध छ ।’ भन्दै कान्तिपुरमा समाचार छ । बैंकले आफूले प्रस्ताव गरेको स्थानमा यथाशीध्र शाखा सञ्चालन नगरे छिटो शाखा खोल्ने अर्को बैंकलाई अनुमति दिने राष्ट्र बैंकले प्रस्टयाइसकेको छ ।

राष्ट्र बैंकले एक बैंकलाई लेखेको पत्रमा भनिएको छ, ‘अन्य बैंकहरूबाट रीतपूर्वक सरकारी कारोबारका लागि माग भइआएमा ती स्थानीय तहको सरकारी कारोबारका लागि स्वीकृति प्रदान गरिने व्यहोरा जानकारी गराइन्छ ।’ आफूले प्रस्ताव गरेको स्थानमा सम्भाव्यता अध्ययनपछि खासै फाइदा नहुने देखिएपछि केही बैंकहरूले शाखा खोल्न आनाकानी गरेकाले अर्को बैंकलाई अनुमति दिनुपरेको स्रोतले बताएको छ । ‘बैकहरूले पनि स्थान ओगटेर बस्न भएन, शाखा खोल्ने भए छिटो खोल्नुपर्‍यो, नभए अर्कालाई छोडिदिनुपर्‍यो,’ स्रोतले भन्यो ।

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्