Logo
११ पुस २०८१, बिहीबार
(December 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपासँग पार्टी एकता नभए एमालेसँग मिल्ने उपेन्द्रको तयारी

काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग पार्टी एकताको लागि प्रस्ताव गरेका छन् । उनले ठाकुरसँग अब दुई पार्टी मिलेर जानुको विकल्प नभएको भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।

उनले राजपा नेपालसँग पार्टी एकता हुन नसके एमालेसँग मिलेर जाने समेत खुलासा गरेका छन् । उनले थपे,‘हाम्रो हर कोशिस भनेको नै राजपा नेपालसँग एकता गर्ने नै हो, मधेशी जनताले दुई पार्टीलाई मिल्नको लागि जनादेश दिएका छन्, यदि भएन भने हामी एमालेसँग सहकार्य गरेर जान्छौं।’

नागरिक टाइमससंगको  कुराकानीमा अध्यक्ष यादवले पार्टी एकताको लागि आफू पूर्ण तयारी अवस्थामा रहेको भन्दै यस्तो खुलासा गरेका छन् । २ नम्बर प्रदेशमा आफूहरुलाई जनताले अध्यधिक विश्वास गरेकोले यहाँको समृद्धिको लागि अब आफूहरुले काम गर्ने उनको भनाई थियो ।

उनले थपे,‘मधेशको अधिकारको लागि यहाँका जनताले हामीलाई जिताएका हन् । प्रदेशमा हाम्रो सरकार बन्छ, अब विकास हामी गर्छौ, मधेशमा विकासको लहर आउँछ।’ उनले मधेशमा आफ्नो पार्टीको नेता मुख्यमन्त्री बन्ने पनि जिकिर गरे । उनले थपे,‘२ नम्ब प्रदेशमा सबैभन्दा ठूलो दल हामी हौं, त्यसैले सरकार हामी बनाउँछौं।’

त्यस्तै उनले आफूहरुको कारण कांग्रेसले मधेशमा धेरै ठाउँमा चुनाव जितेको पनि दाबी गरे । उनले थपे,‘मैले ज्ञानेन्द्र बहादुर कार्कीलाई जिताएको हुँ, सुनसरीमा हाम्रो प्रभावको कारणले उहाँले चुनाव जित्नु भयो, तर कांग्रेसले तालमेल गर्न चाहेको थिएन ।’ अध्यक्ष यादवले एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले प्रस्ताव गरे अब बन्ने सरकारमा समेत सहभागी हुने जनाए । उनले थपे,‘उहाँहरुले प्रस्ताव गर्नुभएको छैन, यदि गर्नुभयो भने हामी यसबारेमा सकारात्मक छौं, सरकारमा जान्छौं।’

प्रकाशित मिति: Dec 12, 2017

प्रतिक्रिया दिनुहोस्