Logo
४ आश्विन २०८१, शुक्रबार
(December 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन मतपत्रमा चार छाप, आठ दिनभित्रै निर्वाचन परिणाम

निर्वाचन आयोगले दुवै चरणको मतपरिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगले प्रत्यक्षतर्फको परिणाम चारदिन र समानुपातिकतर्फको आठदिन भित्रै सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिएको छ।

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालका अनुसार मतदाता संख्या थोरै भएका क्षेत्रमा गणना शुरु भएको २४ घण्टाभित्रै प्रतिनिधि र प्रदेशसभा सदस्यको परिणाम सार्वजनिक हुनेछ। स्थानीय तहभन्दा प्रदेश तथा प्रतिनिधिसभाको मतपत्र छरितो भएका कारण मतपरिणाम यथासक्य छिटो सार्वजनिक हुने आयोगको दावी छ।

दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाको मतगणना बिहिवार अपरान्हदेखि सुरु हुनेछ । १० मंसीरमा भएको पहिलो चरण र आज हुने दोस्रो चरण निर्वाचनको मतगणना एकैचोटि हुने आयोगले बताएको छ।
मतदाता परिचयपत्र नभएपनि भोट हाल्न पाइने

आयोगले मतदाता परिचयपत्र हराएका वा साथमा नभएका मतदाताका लागि समेत भोट हाल्न सक्ने व्यवस्था गरेको छ । मतदाता नामावलीमा नाम भएका तर विविध कारणले परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताको ‘मताधिकारलाई सम्मान गर्दै’ उनीहरुलाई समेत मतदानको व्यवस्था गरिएको आयोगले जनाएको छ।

मतदाता परिचयपत्र साथमा नभएका व्यक्तिले नागरिकता, अघिल्लो संविधानसभा निर्वाचनमा वितरण गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचयपत्रको आधारमा मतदान गर्न पाउनेछन् ।

आयोगले यसअघि स्थानीय तहको निर्वाचन र पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा समेत नामावलीमा नाम भएका तर परिचयपत्र नभएका मतदातालाई मतदानको व्यवस्था मिलाएको थियो ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि तीन प्रकारका मतपत्रको व्यवस्था गरिएको छ । प्रत्यक्षतर्फ प्रदेश र प्रतिनिधिसभाका लागि फरक–फरक मतपत्रको व्यवस्था गरिएको छ । तर, समानुपातिकतर्फ भने प्रदेश र प्रतिनिधिसभाका लागि एउटै पानामा मतपत्रको व्यवस्था गरिएको छ । प्रत्यक्ष निर्वाचनका लागि दुईसभाका दुईवटा छुट्टाछुट्टै र प्रतिनिधिसभाका लागि एउटा गरी जम्मा तीनवटा मतपत्रको व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ हरियो मतपत्रको व्यवस्था गरिएको छ । मतपत्रमा चुनाव चिन्हसमेत हरियै रङको हुनेछन् । समानुपातिकका लागि तल र माथि गरी एउटै मतपत्रमा मतसंकेत गर्नुपर्नेछ भने प्रत्यक्षका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरिएको छ।

प्रकाशित मिति: Dec 7, 2017

प्रतिक्रिया दिनुहोस्