Logo
११ पुस २०८१, बिहीबार
(December 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२२ लाख मतदातालाई परिचय पत्र बाँड्दै आयोग

बिहीबार हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा भाग लिने  मतदाताले आजदेखि परिचय पत्र पाउने भएका छन्।

निर्वाचन आयोगले ४५ जिल्लाका विभिन्न स्थानमा रहेका मतदान केन्द्रबाट मंगलबार बिहानैदेखि फोटोसहित  परिचय पत्र बाँडिरहेको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिए।

‘कोहीले बिहान ८ बजेदेखि नै सुरु गरेका छन्, कोही केहीबेरमा गर्दै छन्,’ ढकालले भने, ‘सबै केन्द्रमा कर्मचारी परिचय पत्र लिएर पुगिसकेका छन्, भोलि साँझसम्म बाँडिसक्छौं।’

उनले हरेक केन्द्रमा आयोग कर्मचारी पुग्ने भएकाले मतदातालाई सजिलो होस् भने अन्तिम समयमा परिचय पत्र बाँड्न लागिएको बताए।

‘पहिला कर्मचारी गाउँ पुगेका हुँदैनन्, जिल्लाबाट बाँड्दा मतदातालाई असुविधा हुने भएकाले अन्तिम समयमा बाँडेका हौं,’ ढकालले भने।

उनका अनुसार स्थानीय तहमाभन्दा यसपालि १५ लाख मतदाता थपिएका छन्। स्थानीय चुनावमा भोट हाल्दा कार्ड लिएकाले त्यही कार्ड देखाएर मत हाल्न पाउँछन्।

‘१५ लाख नयाँ मतदाता थपिएका छन्, ७ लाखले पुराना कार्ड नाम, ठेगाना सच्याएर नयाँ परिचय पत्र बनाएका  छन्,’ ढकालले भने।

मतदाता परिचय पत्र हराएका वा नलिएकाले अन्य कागजात देखाएर मतदान गर्न पाउने/नपाउने विषयमा बुधबार साँझ आयोगले निर्णय गर्ने उनले जानकारी दिए।

बिहीबार ४५ जिल्लामा १२८ प्रतिनिधि सभा र २५६ प्रदेश सभा सदस्यका लागि मतदान हुँदैछ। आयोगले बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मतदान समय तोकिएको छ।

दोस्रो चरणको चुनावको लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ।

यसअघि मंसिर १० गते हिमाली र पहाडी जिल्लाका ३२ जिल्लामा मतदान भइसकेको छ।

आयोगले ती जिल्लामा बिहीबार साँझ पाँच बजेपछि नै मतगणना सुरु हुने जनाएको छ। मतगणना सुरु भएको हप्ता दिनभित्र प्रत्यक्षतर्फको सबै परिणाम आइसक्ने आयोगको दाबी छ।

प्रकाशित मिति: Dec 5, 2017

प्रतिक्रिया दिनुहोस्