आयोगद्वारा स्पष्टीकरणप्रति मिडिया मालिकहरुको आपत्ति
काठमाडौं । राजनीतिक दलका विज्ञापन प्रकाशन तथा प्रसारण सम्बन्धमा निर्वाचन आयोगले सञ्चारमाध्यमलाई सोधेको स्पष्टीकरणप्रति नेपाल मिडिया सोसाइटीले आफू गम्भीर भएको बताएको छ । सोसाइटीले बिहीवार एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमको विज्ञापनको कानूनले निषेध नगरेको विषयको विज्ञापन अधिकारमाथि प्रश्न नउठाउन सम्बन्धित पक्षलाई आग्रह गरेको हो ।
‘सबै पक्षबाट निर्वाचनको वातावरण बनाउने र देशलाई राजनीतिक निकास दिन योगदान गर्नुपर्ने यो ऐतिहासिक क्षण हो । चुनावमा राजनीतिक दलहरूले आआफ्नै तरिकाले प्रचार प्रसार गर्दछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘मिडियाले समाचार र सूचनाका माध्यमबाट जनतालाई सत्यतथ्य बुझ्न सहयोग गर्दछ । चुनावका बेला राजनीतिक दलले पनि विज्ञापन गर्दछन् । मिडियाका लागि विज्ञापन अक्सिजनमात्र नभएर सार्वभौम अधिकार हो ।’
तर, केही दिनअघि निर्वाचन आयोगले विभिन्न सञ्चारमाध्यमलाई राजनीतिक विज्ञापन प्रकाशन र प्रसारण गरेकामा आचारसंहिता उल्लङ्घन भएको भन्दै कारबाहीसमेत गर्ने धम्कीको घटनाले गम्भीर बनाएको सोसाइटीले उल्लेख गरेको छ । सोसाइटीले देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र जनताको सुसूचित हुन पाउने अधिकारलाई सर्वोपरि ठान्ने मूलप्रवाहका मिडियालाई कुनै पनि पक्षबाट दख्खल दिने काम नहोस् भन्नेतर्फ सचेत गराएको छ ।
‘नेपालको शान्ति, संविधान र यस निर्वाचनमा नेपालका सञ्चारमाध्यमको सबैभन्दा बढी भूमिका रहेको र आगामी दिनमा समेत राजनीतिक स्थिरता, प्रगति र विकासका लागि हाम्रो खबरदारीको अभियान जारी रहनेछ,’ विज्ञप्तिमा भनिएको छ । चुनावको सम्मुखमा कुनै पनि पक्षबाट निर्वाचनविरोधी क्रियाकलाप र मिडियालाई हतोत्साहित हुने कार्य गर्न–गराउने कार्य स्वीकार नहुने सोसाइटीले विज्ञप्तिमार्पmत सम्बन्धित पक्षलाई सचेत गराएको छ ।