Logo
३ आश्विन २०८१, बिहीबार
(November 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मृतकको संख्या ८ पुग्यो, आफ्नै खर्चमा पीडितले मगाए हेलिकप्टर

धादिङ : त्रिशूली बस दुर्घटनामा मृतकको संख्या ८ पुगेको छ । दुर्घटनामा घाइते भएका पवन महतको समयमै उद्धार नहुँदा ज्यान गएपछि मृतकको संख्या ८ पुगेको हो । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको नमस्ते अर्घाखाँचीको लु २ ख २९१ नम्बरको बस बुधबार बिहान करिब ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचबाट त्रिशूली नदीमा खसेको छ ।

प्रहरीका अनुसार ७ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने २४ जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरी गोताखोरले बसलाई २५ फिट तल फेला पारेको छ । बसलाई निकाल्ने तयारी भइरहेको छ । प्रहरीका अनुसार सहचालकले काठमाडौंबाट २८ जना यात्रुको चलानी लिएर हिँडेका थिए । मृतकमध्ये देवदह-१०, गोदाहका दीपक पाण्डे र ठेगाना नखुलेको पवन महत छन् ।

मुग्लिन, जोगिमारा र गजुरीबाट पुगेको प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले घाइतेको उद्धार गरिएको थियो । गलत दिशाबाट आएको ६ ख ४९७२ को ट्रकसँग ठोक्किएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ ।

घाइते अलपत्र :

यसैबीच, उद्धार नगरी छाडिएपछि त्रिशूली बस दुर्घटनाका घाइते अलपत्र परेका छन् । उद्धारमा पुगेका एम्बुलेन्सले ठाउँ नभएको भन्दै छाडिएपछि दुर्घटनाका दुई घाइते अलपत्र परेका हुन् । घाइते अर्घाखाँची अजुरी-४ की ४९ वर्षीया सरिता न्यौपाने र उनका छोरा केशरमणि न्यौपाने कुरिनघाटको मनोकामना पोलिक्लिनिकमा अलपत्र अवस्थामा छन् ।

अर्का अलपत्र घाइते ध्रुव दोमासेको परिवारले आफ्नै खर्चमा हेलिकप्टर मगाएर बिरामी काठमाडौंको ग्रान्डी अस्पताल पुर्‍याएको छ । उक्त हेलिकप्टरमा घाइते निशा थापा पनि पठाइएको पारिवारिक स्रोतले जनाएको छ । उद्धार गर्नुअघि उनीहरु पनि कुरिनघाटको मनकामना पोलिक्लिनिकमा थिए ।

 

प्रकाशित मिति: Nov 29, 2017

प्रतिक्रिया दिनुहोस्