देउवा पत्नी आरजुको क्षेत्रमा त्रिपक्षीय टक्कर
धनगढी : कैलाली क्षेत्र नम्बर ५ मा को विजयी बन्न सक्लान् भन्ने राष्ट्रिय चासोको विषय बनेको छ । सो क्षेत्रमा प्रधानमन्त्री एवम् काङ्ग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा, विवेकशील साझा पार्टीका दिनेशराज भण्डारी र वाम गठबन्धनका नारदमुनि राना थारू प्रतिस्पर्धामा उत्रिएका छन् ।
तीनैजना उम्मेदवारले उक्त क्षेत्रबाट आफू विजयी बन्ने दाबी गरिरहेका छन् । नारदमुनिले तीस हजार राना थारू तथा अन्य थारूहरूको मत आफूलाई प्राप्त हुने विश्वासका आधारमा विजयको दाबी गरेको पाइएको छ ।
काङ्ग्रेसको बलियो पकड रहेको सो क्षेत्रमा विवेकशील साझाले उम्मेदवारी दिएको र उक्त दलले काङ्ग्रेसको मत ठूलो सङ्ख्यामा काट्ने भएकोले पनि नारदमुनिको विश्वास बढेको देखिन्छ । उता काङ्ग्रेस उम्मेदवार आरजु राणाले आफूलाई भविष्यको प्रधानमन्त्रीका रूपमा प्रचार गराएकी छिन् भने सत्ताको ‘पूर्ण उपयोग’ पनि उनले आफ्नो पक्षमा गराएकी छिन् ।
तीन सय शय्याको सुविधासम्पन्न अस्पताल सो क्षेत्रमा बनाउने र फास्टट्र्याक निर्माण गर्ने भनी लिखित प्रतिबद्धता जनाएपछि आरजुले आफ्नो मत बढ्ने विश्वास गरेकी छिन् । आफूलाई कैलालीको स्थायी बासिन्दा बनाउन गोपी हमालको घर किन्ने उनले सो घर खरिद गरेको कारणले पनि मत बढ्ने ठानेकी थिइन् ।
विपक्षीहरूले आरजुलाई देशको सबैभन्दा भ्रष्ट महिला र नेपाललाई इसाईकरण गर्न मूख्य भूमिका निर्वाह गर्नेहरूमध्ये एक भनी प्रचार गरिरहेका छन् । तथापि आरजुले आफू विजयी बन्ने विश्वास गरेकी छिन् ।
त्यस्तै विवेकशील साझाका उम्मेदवार दिनेशराज भण्डारी सो क्षेत्रमा लोकप्रिय मानिन्छन् र उनले विजय हात पार्ने विश्वास उक्त पार्टीले गरेको छ । भण्डारीले काङ्ग्रेसको धेरै र वामपन्थीको कम मत प्राप्त गर्ने स्थिति देखिएको छ । तटस्थ मतदाताको आकर्षणसमेत आफूतिर भएकोले भण्डारीमा विजयी बन्ने विश्वास बढेको पाइन्छ ।
कैलाली पाँच नम्बर क्षेत्रमा सबैले आफू विजयी बन्ने दावी गरेका भए पनि त्यहाँ त्रिपक्षीय प्रतिष्पर्धाको स्थिति रहेको छ । झिनो मतान्तरले जोसुकै विजयी बन्न सक्ने सम्भावना देखाएको भए पनि आरजु राणाको स्थिति अहिलेसम्म कमजोर नै मानिएको छ । धेरै ठूलो धनराशि खर्च गरेर पनि आरजुले अहिलेसम्म विजय निश्चित गर्न सकेकी छैनन् ।
स्थानीय निर्वाचनमा माओवादीका तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका रामसमझ नामक व्यक्तिलाई चालीस लाख नगद दिएको चर्चा कैलालीमा यतिबेला हावासरि चलेको छ ।
रामसमझलाई खरिद गर्ने सफलता पाउनुलाई आरजुले आफू विजयी बने सरहको सफलता ठानेकी छिन् । तर, कैलालीमा यतिबेला आरजुको पैसा खाने र मतदान इच्छा लागेको पक्षलाई गर्ने लहर नै जनसाधारणमा चलेको पाइएको छ । चुनाव जित्नका निम्ति आरजुले बाइस करोडसम्म खर्च गर्ने भनी स्थानीय बासिन्दाले चर्चा गरेका छन् ।