Logo
१९ पुस २०८१, शुक्रबार
(November 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शशांकको जवाफ : बिपी कोइराला रहेका भए केपी ओली कांग्रेस हुन्थे

नवलपुर : बिपी पुत्र डा. शशांक कोइरालाले आफ्ना पिता बिपी जिवित रहेको भए एमाले अध्यक्ष केपी शर्मा ओली अहिले काँग्रेस हुने दावी गरेका छन् । कांग्रेसका महामन्त्री शशांक कोइरालाले नवलपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देशव्यापीरुपमा अहिले कांग्रेस प्रवेशको लहर आएको दावी पनि गरे ।

ओलीले देशका विभिन्न ठाउँमा मन्तव्यका क्रममा यतिबेला बिपी, गणेशमानलगायतका नेता जीवितै भएको भए उनीहरू एमालेमा प्रवेश गर्ने भन्दै भाषण गरेपछि आइतबार नवलपुरमा शशांकले जवाफ फर्काएका हुन् । कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । दैनिक सयौँको संख्यामा अन्य पार्टी परित्याग गरेर काँग्रेस प्रवेश गरेको दावी गर्दै कोइरालाले यसबाट आफू उत्साहित भएको बताए ।

वाम गठबन्धनबाट सुरुमा कांग्रेस झस्किएको खुलाउँदै महामन्त्री कोइरालाले वाम गठबन्धनले अहिले नै देशमा अधिनायकवाद ल्याउन नसक्ने बताए । महामन्त्री कोइरालाले भने, ‘उनीहरुले दुई तिहाइ पुर्याउन सक्दैनन् ।’ वाम गठबन्धनले बढी मत पाएमा आउँदा दिनमा भने अधिनायकवादको खतरा रहेको भन्दै उनले वाम गठबन्धनले काँग्रेसभित्र गुटउपगुट अन्त्य भएकाले कांग्रेसलाई फाइदा पुगेको दावी गरे ।

तपार्इं देशको प्रधानमन्त्री बन्ने सम्भावना छ कि छैन भन्ने प्रश्नमा महामन्त्री कोइरालाले भने, ‘सम्भावना छ, तर शेरबहादुरजी, रामचन्द्रजी हुनुहुन्छ, सबैको सल्लाहमा म पनि हुन सक्छु ।’ महामन्त्री कोइरालाले कम्युनिष्टले काँग्रेसलाई यथास्थितिवादीको आरोप लगाउने गरेको उल्लेख गर्दै विश्वबाट समाप्त भइसकेको कम्युनिष्ट विचारले काँग्रेसलाई यथास्थितिवादी भन्न नसुहाउने बताए ।

गरिबलाई गरिब नै राखेर कम्युनिष्टले राजनीति गरेको भन्दै महामन्त्री कोइरालाले भने, ‘हामी सबैलाई धनी बनाउँछौँ, त्यो समाजवादमा हुन्छ ।’ कोइरालाको प्रश्न छ, ‘परिवर्तन ल्याउने काँग्रेस यथास्थितिवादी हुने, विश्वबाटै समाप्त हुँदै गएको कम्युनिष्ट कसरी परिवर्तनकारी हुन्छ ?’

 

 

प्रकाशित मिति: Nov 26, 2017

प्रतिक्रिया दिनुहोस्