Logo
३ आश्विन २०८१, बिहीबार
(November 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलो चरणमा ६५ प्रतिशत मतदान : तिङ्लामा ‘शून्य’ भोट, दुई केन्द्रमा स्थगित

काठमाडौं । छिटफूट घटना बाहेक पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । ३२ जिल्लामा भएको निर्वाचनमा आइतवार साँझसम्ममा प्राप्त प्रारम्भिक विवरण अनुसार ३१ लाख ९१ हजार ९ सय ४५ जना मतदातामध्ये ६५ प्रतिशत मतदानमा सहभागि भएको निर्वाचन आयोगले बताएको छ । खसेको मत प्रतिशत बढ्न सक्ने आयोगले बताएको छ । प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्र गरी १ सय ११ सांसदका लागि ७ सय २ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । आइतवार सम्पन्न निर्वाचनमा सबैभन्दा बढी बाजुरा जिल्लामा ८० प्रतिशत मत खसेको आयोगले बताएको छ ।

पहिलो चरणको निर्वाचनका लागि तोकिएका ४ हजार ४ सय ६५ मतदान केन्द्रमध्ये दुई ओटा केन्द्रको मतदान स्थगित गरिएको छ । अन्य सबै स्थानमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताएका छन् । उनले भने, ‘मतदानमा उत्साहजनक रुपमा सहभागि मतदाता संविधान कार्यान्वयनलाई पूर्णता दिन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र मुलुकमा राजनीतिक स्थायित्व दिने कार्यमा नेपाली जनता प्रतिबद्ध रहेको स्पष्ट भएको छ ।’ पहिलो चरण जस्तै मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचनलाई सफल पार्नका लागि आयोगले सरकार, राजनीतिक दल, उम्मेदवार, मतदाता, सुरक्षा निकाय, मित्र राष्ट्रलगायत सम्बद्ध सबैसँग सकारात्मक सहयोगका लागि आग्रह गरेको छ ।

यस्तै, आइतवार सम्पन्न निर्वाचनका क्रममा केहि स्थानमा बम बिष्फोटका घटना र केहि स्थानमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपनि मानवीय क्षति नभएको राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ । निर्वाचनको अनुगमन गर्दै आयोगले बम विष्फोटका घटना, चिसो मौसम तथा भौगोलिक विकटताका बावजुद् मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न मतदान केन्द्रमा पुगेको पाइएको बताएको छ ।

मतगणना २१ गतेपछि
आइतवार निर्वाचन सम्पन्न भएका सबै मतदान स्थलबाट सुरक्षित तरिकाले जिल्ला सदरमुकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गर्ने कार्य भइरहेको आयोगले बताएको छ । आइतवार संकलन गर्न नसकिएका मतपेटिका सोमवार सुरक्षाकर्मीको रोहवरमा सदरमुकाम लगिने छन् । यसका लागि हेलिकप्टरमा समेत मतपेटिका ओसार्न लागिएको आयोगले बताएको छ । संकलन गरिएका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारहरूको सहमतिमा विश्वसनीय ढङ्गबाट सुरक्षित स्थानमा राख्ने प्रवन्ध मिलाइएको आयोगले जानकारी दिएको छ । आइतवार मतदान सम्पन्न भएका क्षेत्रको मतगणना मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचन सकिए लगत्तै शुरू गरिने व्यवस्था मिलाइएको छ ।

दुई केन्द्रको मतदान स्थगित

पश्चिम रुकुमको बाँफिकोट गाउँपालिकाको वडा नम्बर ५ मा रहेको रत्न मावि काँडा ‘क’ र आठविसकोट नगरपालिका ११ स्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालय गत्तासैना ‘ख’ मतदान केन्द्रमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटीकामा आगो लगाएका कारण मतदान स्थगित गरिएको छ । मतपेटीकासहित मतपत्र जलेपछि दुवै स्थानमा मतदान स्थगित भएको मुख्य निर्वाचन कार्यालय रुकुमले जानकारी दिएको छ । स्थगित भएको स्थानमा निर्वाचन अधिकृतले पुनः मतदानको व्यवस्था गर्ने बताइएको छ ।

तिङ्लामा ‘शून्य’ भोट
स्थानीय तहको निर्वाचन बहिस्कार गरेका सोलुखुम्बुको तिङ्लावासीले आइतवारको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन पनि बहिस्कार गरेका छन् । राज्य पुनः संरचनाप्रति असन्तुष्टि ब्यक्त गर्दै यहाँका स्थानीय वासिन्दाले निर्वाचनमा सहभागि नभएका हुन् । गत वर्षको चैत १ गतेवाट आन्दोलन शुरु गरेका तिङ्लावासीले गत स्थानीय तहको निर्वाचनमा पनि ‘नो भोट, नो क्याण्डिडेट’ अभियान चलाएका थिए । जिल्ला निर्वाचन कार्यालयले तिङला क्षेत्रमा स्थापना गरेको पाँच ओटा मतदान केन्द्रमा एक भोट पनि नखसेको सिंहकाली मावि मतदान केन्द्रमा खटिएका खेमराज भट्टराईले बताए । साविकको गाविस रहेको तिङ्लामा २ हजार ५ सय ७५ मतदाता रहेका छन् । राज्य पुनःसंरचनाका क्रममा नेचा सल्यान गाउँपालिकामा गाभेको भन्दै तिङ्लावासीले आफूहरुलाई सोलुदुधकुण्ड नगरपालिकामा समाबेस गर्न माग गर्दै आएका छन् ।

प्रकाशित मिति: Nov 26, 2017

प्रतिक्रिया दिनुहोस्