ताप्लेजुङको याङ्मामा मात्र १६ मत खस्दा मतदान सकियो
ताप्लेजुङ : ताप्लेजुङको सबैभन्दा टाढाको मतदान स्थल याङ्मामा १६ मत खसेको छ । गाउँमा रहेका मतदाता सबैले भोट खसालेपछि याङ्मामा दिउँसो तीन बजेनै मतदान सकिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । ५७ मतदाता रहेको फक्ताङलुङ गाउँपालिका ७ मा रहेको याङ्मामा ४१ जना मतदाता अनुपस्थित भएका छन् ।
चार हजार दुई सय मिटर उचाईमा रहेको गाउँका अधिकांश मतदाता गाउँ भन्दा बाहिर रहेका कारण कम भोट खसेको वडाध्यक्ष छेतेन शेर्पाले बताए ।
यो बाहेक कम मतदाता भएका उच्च हिमाली गाउँहरु गोला, ग्याब्ला र घुन्सामा भने सम्पर्क हुन नककेको जिसीको भनाइ छ । गोलामा २ सय २२, ग्याब्लामा ४९ र घुन्सामा १ सय ३१ मतदाता छन् । जिल्लाका अरु मतदान केन्द्रमा अपरान्ह २ बजेसम्म ५५ प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकारी महेश ठाकुरले बताए ।
मतदान सकिएपनि पाँच बजेसम्म कर्मचारी कुरेर बस्ने शेर्पाको भनाइ छ । प्रजिअ जिसीका अनुसार याङ्माको मतपत्र भोली हेलिकप्टरबाट सदरमुकाम ल्याइने छ । यो चीनको तिब्बत र भारतको सिक्किमसँग सीमा क्षेत्र जोडिएको क्षेत्र हो । जहाँ पुग्न जिल्ला सदरमुकामबाट पैदल हिँडेर तीन दिनमा पुगिन्छ ।