Logo
३ आश्विन २०८१, बिहीबार
(November 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल फेरि सञ्चालनमा

मुना गोतामे, मोरङ :  नयाँ व्यवस्थापनका साथ आइतवारबाट  मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल्स  फेरि सञ्चालन आएको छ । यसअघि यो मिल्स पूर्ण रुपमा बन्द रहेको थियो ।

मिल्सका सञ्चालक सदस्य ८४ बर्षीय मुकुन्दप्रसाद नेपालले विधिवत् रुपमा पूजा गरेर सञ्चालन गरेका हुन् । यसअघि सरकारको ऋणमा सञ्चालन हुँदै आएको मिल्स यसपटक नयाँ व्यवस्थापनले आफै सञ्चालन गरेको विराटनगर जुट मिल्सका प्रबन्ध निर्देशक निलहरि काफ्लेले बताए ।

उनले अहिले दैनिक ५/६ टन उत्पादन गर्ने गरि मिल्स सञ्चालन गरिएको तर मंसिर महिनापछि पूर्ण क्षमता २० टन दैनिक उत्पादन हुने गरि सञ्चालन गर्ने तयारी रहेको बताए । अहिले ८५ जनाले आइतवारबाट मिल्समा रोजगारी पाए भने मंसिरपछि १ हजारले पाउने उनले बताए ।

नयाँ व्यबस्थापनले मिल्सलाई पूर्ण रुपमा आईपी सिस्टमको सीसी क्यामराको निगरानीमा राखेर सञ्चालन गरिएको उनले सुनाए । मिल्समा जुटको सुतली र बोरा मात्रै उत्पादन हुन्छ । २०७२ साल पुस २१ गतेदेखि कम्पनी ऐन अनुसार मिल्सले नयाँ ब्यबस्थापन पाएको छ ।

यसअघि मिल्स सञ्चालनका लागिा सरकारबाट पटक पटक गरि ल्याएको १ सय १३ करोड ऋण तिर्न बाँकी रहेको उनले सुनाए । नयाँ व्यबस्थापनले आफ्नो अनुकुल मिल्स सञ्चालनका लागि सरकारको सेयर घटाएर ३३ प्रतिशतमा पुर्‍याएको छ । ‘नयाँ व्यवस्थापनले जारी पुँजी बृद्धिका लागि २०७४ बैसाखमा ७, ८ र ९ गते राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशित गरि २५ हजार कित्ता सेयर बिक्री गरे,’ उनले भने, ‘प्रति कित्ता १ सय ६० रुपैयाँको दरमा बिक्री हुँदा ४० लाख पुंजी बृद्धि भएको छ ।’ मिल्सको कूल ९३ हजार ७ सय ५० कित्ता सेयरमध्ये सरकारको ३१ हजार २३ र सर्वसाधारणको ६२ हजार ७ सय २७ कित्ता सेयर रहेको छ ।

आर्थिक समस्याका कारण सञ्चालनमा कठिनाई भएपछि सरकार तथा तत्कालिन व्यबस्थापनले भाडामा मिल्स सञ्चालनका लागि भारतीय विलसम इन्टरनेसनल कम्पनीलाई जिम्मा लगाएको थियो । उक्त कम्पनीले ६ महिना परीक्षण अवधि भन्दै र ११ महिना १८ दिन भाडामा सञ्चालन गरेर २०७४ भदौ १९ गतेदेखि बन्द गरेको थियो ।

प्रकाशित मिति: Nov 26, 2017

प्रतिक्रिया दिनुहोस्