Logo
४ आश्विन २०८१, शुक्रबार
(November 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यरातमा एक लाख नगदसहित नयाँशक्तिका पाँच जना कार्यकर्ता पक्राउ

सृजना कठायत, गोरखा : नयाँ शक्ति पार्टी नेपालको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीमा नगद १ लाख सहित ५ जनालाई गोरखा जौबारी युवा क्लबका युवाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । जौवारी माओवादी केन्द्रका बरिष्ठ नेता एवं गोरखा–२ का उम्मेदवार नारायणकाजी श्रेष्ठको गाउँ हो ।

स्थानीय युवा अर्जुन ढकालले भने, ‘एक झोला पैसा बोकेर लगेका रहेछन्, बाँडेर फर्कंदै गर्दा एक लाख मात्रै पक्रन सफल भयौं।’ अर्का स्थानीय भरत दवाडीले भने, ‘निर्वाचन आचारसंहिता उलंघन गर्दै गोरखा–२ का उम्मेदवार एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई पक्षधरबाट पैसा बाँड्ने काम भयो ।’ गाडीभित्र रहेको कालो रङको ब्यागमा नगद १ लाख भेटिएको हो । आज हुने चुनावलाई प्रभाव पार्न पैसा बाँड्न आउँदै गर्दै उनीहरुलाई नियन्त्रणमा लिइएको स्थानीयहरुले बताएका छन् ।

राति १ बजे गोरखा-२ दुई अन्तर्गत शिरानचोक गाउँ पालिका-८ गोपालडाडामा युवाहरुले गाडी, नगद रकम र ५ जना युवाहरूलाई नियन्त्रणमा लिएका हुन् । निर्वाचन आचारसंहिता बिपरित मध्यरातमा नगद र गाडी लिएर हिडेका नयाँ शक्तिका युवाहरूलाई अहिले ईलाका प्रहरी कार्यालय जौबारीमा राखिएको छ ।

मध्यरातमा नियन्त्रणमा लिइएको सो गाडीमा नयाँ शक्ति पार्टी नेपालको चुनावी सामाग्री, झण्डा, पर्चा-पम्पेल्टहरु र बियरका खाली बोटलहरु भेटिएको माओवादी केन्द्रका नेता श्रेष्ठसँगै रहेका पत्रकार सुनिल खड्काले दावी गरे ।अजिरकोटबाट भालुस्वाँरातर्फ आउँदै गरेको ग २ च १७२५ नम्बरको महेन्द्र बोलेरो पिकअप गाडीमा नगद एक लाख र प्रचार सामाग्री सहित नया शक्ति पार्टीका ५ जना युवालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय जौबारीले पनि स्वीकार गरेको छ । नियन्त्रणमा लिइएकाहरुमा चालक गोरखा नगरपालिका–११ का दीपेन्द्र सुनार, डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ, गोरखा नगरपालिका–६ का भरतकुमार श्रेष्ठ र गोरखा–८ का खुशबहादुर थापा छन्।

प्रकाशित मिति: Nov 26, 2017

प्रतिक्रिया दिनुहोस्