निर्वाचनमा मतदान गर्न उपत्यकाबाट बाहिरिनेको क्रम बढ्यो
काठमाडौं । आइतवार हुन लागेको पहिलो चरणको निर्वाचनका लागि उपत्यकाबाट मतदान गर्नका लागि उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढेको छ । मतदान गर्नका लागि मङ्गलवारदेखि नै उपत्यकाबाट सर्वसाधारण बाहिर जाने क्रम बढेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिए ।
उनका अनुसार दैनिक करीब ६० देखि ७० हजार सर्वसाधारण बाहिरिनेमा अहिले त्यो सङ्ख्या बढेर करीब ७४ देखि ८० हजारसम्म पुगेको छ । “अहिले दैनिक १५ हजारको सङ्ख्यामा थप मानिस उपत्यकाका बाहिने गरेका छन्”, उनले भने, “निर्वाचन हुने जिल्लाका मानिस बढी बाहिरिने गरेका छन् ।” उनका अनुसार शुक्रवार मात्र करीब ७९ हजार सर्वसाधारण बाहिरिएका छन् ।
सर्वसाधारण मतदान गर्नका लागि थानकोट, कोटेश्वर र बल्खु हुँदै बाहिरिने गरेका छन् । आइतवार पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन हँुदैछ । उपत्यकाबाट नजिकका जिल्ला धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाञ्चोक, दोलखा लगायतका जिल्ला रहेकाले शनिवारसम्म सर्वसाधारण मतदान गर्न जानेछन् । रासस