Logo
१७ कार्तिक २०८१, शनिबार
(November 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीसँग संयुक्त चुनावी सभामा जाने प्रचण्डका कार्यक्रमहरु अघोषित रुपमा स्थगित

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै संयुक्त रुपमा सम्बोधन गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कार्यक्रमहरु स्थगित भएको छ । गहिरो पुत्रशोकमा परेकी पत्नी सीतालाई आफै सम्हाल्नु पर्ने परिस्थिति सिर्जना भएपछि वलीसँगै सम्बोधन गर्ने कार्यक्रमहरु स्थगित भएका हुन् ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीलेपनि पूर्व निर्धारित कार्यक्रम अनुसार प्रचण्ड चुनावी सभामा सँगै रहने कार्यक्रम स्थगित भएको बताए । अधिकारीले भने, ‘अनुकूल मिल्यो भने प्रचण्डपनि रहनु होला, तर अध्यक्ष वलीसँगै माओवादी केन्द्रका तर्फबाट बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ रहनु हुने कार्यक्रम बनेको छ ।’

३ मंसीरमा प्रकाशको निधन हुनुअघि वामगठबन्धनको तर्फबाट देशव्यापी रुपमा आयोजित सभाहरुलाई वली र प्रचण्डले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसै अनुसार झापाको दमकमा आयोजित सभालाई सम्बोधन गर्न प्रचण्ड ओलीसँगै त्यहाँ पुगेका थिए । झापामा रहँदा पुत्र प्रकाशको निधन भएको थियो ।

त्यसपछि ओली एक्लैले काकडभिट्टा र मोरङमा आयोजित सभालाई सम्बोधन गरेका थिए । ५ मंसीरमा चितवनमा आयोजित संयुक्त सभालाई श्रद्धाञ्जली सभामा परिणत गरिएको थियो । शोकका कारण प्रचण्डले त्यहाँपनि सम्बोधन गरेनन् । त्यसयता संयुक्त सभालाई बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्ने गरेका छन् ।

पारिवारिक स्रोतका भनाईमा, छोरा गुमाएकी सीता अझै सम्हालिन सकेकी छैनन् । ‘प्रचण्डबाहेक अरुले सम्हाल्न सक्ने स्थिति छैन’ पारिवारिक स्रोतले भन्यो,‘प्रचण्ड साथमा हुनु भएन भने झन समस्या पर्नसक्छ, त्यसैले उहाँ चुनावी सभामा जाने स्थिति नै रहेन ।’

प्रकाशित मिति: Nov 24, 2017

प्रतिक्रिया दिनुहोस्