Logo
१२ पुस २०८१, शुक्रबार
(November 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोचक बन्दैछ सिरहामा प्रतिस्पर्धा : यसरी भिड्दैछन् दुई पूर्वमन्त्री 

मंसिर २१ गते हुने निर्वाचनका लागि सिरहाको क्षेत्र नं ४ मा दुई पूर्वमन्त्रीबीच खास प्रतिस्पर्धा हुने अनुमान लगाइएको छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमन्त्री राजकिशोर यादव र नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री अजयशंकर नायकबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको हो । तथापि, प्रतिनिधिसभाका लागि सो क्षेत्रबाट पूर्वमन्त्रीद्वयसँगै नेपाली कांग्रेसका नेता तथा निवर्तमान सांसद मोख्तार अहमद पनि सशक्त उम्मेदवारका रूपमा रहेका छन् ।

विगतदेखि नै कम्युनिस्ट पार्टीको पकड भएको क्षेत्र मानिएको यस निर्वाचन क्षेत्रमा पर्ने पाँच वटा स्थानीय तहमध्ये गत असोज २ मा सम्पन्न स्थानीय तह निर्वाचनमा मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिकामा नेकपा ९माओवादी केन्द्र० र नरहा गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको थियो भने कल्याणपुर नगरपालिकामा कांग्रेस र विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरमले विजय हासिल गरेको थियो । राससकर्मी राजु विश्वकर्माले जनाएअनुसार पार्टीभित्र पनि कुशल संगठकका रूपमा परिचित माओवादी नेता नायक स्थानीयस्तरमा राम्रो पकड भएको नेताका रूपमा चिनिन्छन् ।

जनतामाझ लोकप्रिय नेताका रूपमा पहिचान बनाउनु र स्थानीय तह निर्वाचनमा एमाले र माओवादीले मत पाएकाले वाम गठबन्धनका उम्मेदवारलाई चुनावी अंकगणितको हिसाबले अरु उम्मेदवारभन्दा केही अगाडि देखिएको बुद्धिजीवीहरुको भनार्इ छ । जनयुद्धकालदेखि नै अविनाशका रूपमा पहिचान बनाउन सफल पूर्वमन्त्री नायक चुनाव आफूले जित्ने दाबी गर्छन् ।

तर, मधेश आन्दोलनकै बीचबाट राजनीतिमा सक्रिय भएका राजपा नेता यादवले पूर्वमन्त्री नायकलाई ठूलै टक्कर दिने अनुमान छ । यस क्षेत्रको दक्षिणी भेगमा यादव समुदायको बाहुल्यता रहेको र मधेश आन्दोलनको प्रभाव क्षेत्रसमेत भएकाले राष्ट्रिय स्तरमै बौद्धिक नेताका रूपमा पहिचान बनाएका यादवको पक्षमा पनि चुनावी परिणाम आउन सक्ने एकथरिको भनार्इ छ ।

मधेश आन्दोलनकै बीचबाट सक्रिय राजनीति शुरु गरेका राजपा नेता यादवले आफ्नो जित्ने आधार बलियो रहेको दाबी गरेका छन् । मधेश आन्दोलनको उदगम स्थल हो सिरहा, उनले भने, “मैले यहाँ बसेर मधेश र मधेशी जनताका लागि संघर्ष गर्दै आएकाले आफूलाई यहाँको जनताले रोज्छ भन्नेमा विश्वस्त छु ।” त्यस्तै प्रखर वक्ता र इमान्दार छविका नेताका रूपमा परिचित कांग्रेस उम्मेदवार मोख्तार अहमद पनि चुनावी नतिजा आफ्नो पक्षमा आउने दाबी गर्छन् ।

पहाडी समुदायका साथै दलित, यादव र मुस्लिम समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा यी तीनैजना बीचको प्रतिस्पर्धा रोचक हुने स्थानीय बुद्धिजीवीको कथन छ । तीनैजनाले आफ्नो जित निश्चित रहेको दाबी गरे पनि जनताको अभिमत कसको पक्षमा आउने अहिले नै अनुमान गर्न गाह्रो रहेको स्थानीयवासी बताउँछन् । सिरहाको १७ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह समेटिएको यस क्षेत्रमा पुरुष ४३ हजार १९६ र महिला ३८ हजार १०६ गरी कूल ८१ हजार ३०२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जनाएको छ ।

प्रकाशित मिति: Nov 21, 2017

प्रतिक्रिया दिनुहोस्