प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली एयरपोर्टबाट सिधै पुगे लाजिम्पाट
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पमाल दाहालको परिवारमा परेको पुत्र शोकमा संवेदना दिन प्रधानमन्त्री शेर बहादुर देउव तथा एमालेका अध्यक्ष केपी शर्मा ओली लाजिम्पाट निवास पुगेका छन् । देउव र ओली एयरपोर्टबाट सोझै लाजिम्पाटस्थित अध्यक्ष प्रचण्डको निवासमा पुगेका हुन् ।
अध्यक्ष प्रचण्ड तथा पार्टी सल्लाहकार सीता दाहाललाई सम्वेदना व्यक्त गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले प्रकाश दाहालको निधनबाट देशले होनाहार र इमान्दार छोरा गुमाएको बताए । उनले संवेदना व्यक्त गर्दै भने, ‘प्रकाश निकै सरल थिए, निकै मेहनती र इमान्दार पनि । म निकै भावविह्वल बनेको छु । मन सम्हालेर धैर्य धारण गर्न सक्नुहोस् भन्ने कामना गर्दछु ।’
प्रधानमन्त्री देउवा चुनावी प्रचार अभियानका क्रममा गृह जिल्ला डडेल्धुराबाट सम्वेदना दिन काठमाडौं आई पुगेका थिए । प्रधानमन्त्री देउवाभन्दा केही समयअघि एमालेका अध्यक्ष केपी शर्मा ओली विमानस्थलबाट सोझै लाजिम्पाट पुगेका थिए । अध्यक्ष ओलीले प्रकाशको निधनले राष्ट्र र पार्टीमा क्षति पुगेको बताउँदै धैर्यधारणका लागि कामना गरे ।
प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीसँगै आएका पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष प्रचण्डको परिवारलाई धैर्यधारण गर्न आग्रह गरे ।