सुनसरीमा एम्बुलेन्स र स्कुटरबीच ठक्कर, दाङमा बस दुर्घटना, ३ को मृत्यु, ३० घाइते
काठमाडौं । सुनसरीको इटहरीमा एम्बुलेन्ससँग ठोक्किँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ । इटहरीको हलगडा चोकमा को १ च ७००९ नम्बरको एम्बुलेन्स र को २३ प ४६७ नम्बरको स्कुटर गएराती ११ बजे ठोक्किएका थिए ।दुर्घटनामा घाइते भएका तीनै जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा इटहरी २ बस्ने स्कुटर चालक डोकबहादुर कार्की, पाल्पा भैरवस्थानका निर्मल गौतम र सुनसरी भरौलकी ४६ वर्षीया सरीता काफ्लेको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
दाङ देउखुरीमा बस दुर्घटना
यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको मसुरीयामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा रोकिरहेको बसमा गुडिरहेको ना ५ ख ९८० नम्बरको अर्को बस ठोक्किएको थियो ।
घाइते मध्ये गाडी चालक प्रभु दयाल चौधरीको अवस्था गम्भीर भएको भालुबाङ प्रहरीले जनाएको छ । गुडिरहेको यात्रुबाहक बसको टायर पड्किएर रोकिरहेको अर्को बसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।