हिन्दु परम्परा अनुसार पिता प्रचण्डले दिए छोरा प्रकाशलाई दागबत्ती
काठमाडौं : आइतबार बिहान निधन भएका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको पशुपतिको आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । उनलाई पिता दाहालले दागबत्ती दिएका छन् ।
चुनावी कार्यक्रम अन्तर्गत झापामा रहेका पिता काठमाडौं फर्किएर नर्भिक अस्पताल पुगेपछि मात्रै उनको निधनको खबर औपचारिक रुपमा माओवादी केन्द्र र अस्पतालले गरेको थियो । त्यसपछि उनको पार्थिव शरिरलाई दिउँसो १ :३० बजेदेखि ३:३० बजेसम्म श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो ।
स्व. दाहालको आइतबार बिहान नर्भिक अस्पताल पुर्याउनु अघि नै निधन भइसकेको अस्पताल प्रशासनले दाबी गरेको छ । उनको आकस्मिक हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ । पार्टी कार्यालयमा अध्यक्ष तथा पिता पुष्पकमल दाहालले भावुक हुँदै उनको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए ।
त्यसपछि पार्टीका अन्य नेता तथा विभिन्न पार्टीका शीर्ष नेतासहित माओवादी कार्यकर्ता तथा सर्वसाधारणले उनलाई श्रद्धान्जली अर्पण गरेका थिए ।