चुनाव खर्च उठाउन बूढीगण्डकी आयोजनाको सम्झौता खारेज
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता कांग्रेसले चुनाव खर्च उठाउन खारेज गरेको आरोप लगाएका छन् । बूढीगण्डकीकै जसरी कांग्रेसले स्थानीय तहको निर्वाचन अघि करिब एक दर्जन आयोजनाका लाइसेन्स बेचेको पनि ओलीको आरोप छ ।
काठमाडौंमा वाम गठबन्धनतर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले अर्को कम्पनीसँग कमिसन लिइ सम्झौता गर्न कांग्रेस नेतृत्वको सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता खारेज गरेको दाबी गरे । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी आयोजनाको सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । सरकारले उक्त आयोजना अब लगानी बोर्डमार्फत अगाडि बढाउने जनाएको छ ।
गेजुवा ग्रुपलाई इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रसन एन्ड फाइनान्स (ईपीसी एन्ड एफ) मोडलमा निर्माणको जिम्मा दिने निर्णय तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको अन्तिम मन्त्रिपरिषद्ले गरेको हो । मन्त्रिपरिषद्को उक्त निर्णयपछि गत जेठ २१ गते तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको थियो ।