Logo
११ पुस २०८१, बिहीबार
(November 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लप र काँग्रेसबीच तालमेल छ, आतंककारीलाई सरकारकै संरक्षण : प्रचण्ड

चितवन : माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रोल्पामा सो पार्टीका उम्मेद्वारमाथि भइरहेका हमला नेपाली काँग्रेसलाई सहयोग पुर्‍याउने नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको आरोप लगाएका छन् ।

चितवन क्षेत्र नं. ३ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार समेत रहेका दाहालले नेकपा आफ्नो निर्वाचन क्षेत्र शिवनगरमा हालै मात्र भाडामा लिएको घरमा सोमबार बिहान चितवनका सञ्चारकर्मीहरुसँग कुरा गर्दा नेता दाहालले सो कुरा बताएका हुन् ।

‘तिमीहरु आतंक मच्चाउ हामी चुनाबको प्रचारमा जान्छौं भनेर स्थानीय काँग्रेसले तालमेल गरेछन् । विप्लप (नेत्रबिक्रम चन्द) र काँग्रेसबीच तालमेल छ भन्ने हामीलाई पार्टीको तल्लो तहबाट रिपोर्ट पनि आइरहेको थियो। घटना क्रमले त्यही देखायो पनि’, दाहालले भने ।

‘विप्लप’का केही मान्छेहरु हतियारसहित समातिँदा रोल्पाबाट मन्त्री भएका काँग्रेस नेता अमर पुनले वक्तव्य निकालेर उनीहरुलाई छाडिदेउ भनेका कारण तालमेल भएको प्रष्टै भएको दाहालले बताए ।

‘यो काँग्रेसको केन्द्रीय नीति हो भन्ने आरोप पनि मेरो हैन तर मन्त्रीले नै यसो भनेपछि देशभरीका जनताले हेरिरहेका छन् । हामीले बाम गठबन्धन गर्दा अधिनायकवाद आउँछ भन्ने तर आफू चाहिँ क्रिमिनल एक्टिभीटी (आतंककारी कृयाकलाप) गर्नेलाई पनि साथ लिएर तालमेल गर्ने । यस्तो कामले काँग्रेस कसरी लोकतन्त्रवादी ? मेरो देउवाजीलाई अनुरोध छ यसलाई कन्ट्रोल गर्नुस’ दाहालले भने ।

विप्लबका कार्यकर्ताले काँग्रेसलाई भोट दिँदा आफ्नो कुनै आपत्ति नभएको तर बम गोली हानेर आतंक मच्चाउन नपाउने उनले बताए ।  ‘जनयुद्ध नै सुरु भयो भनेर चुनावका बेला यसो गरे पनि लौ पोलिटिकल्ली (राजनैतिक) नै आए भनेर भन्न सकिन्थ्यो। नभए बम बारुद पड्काउन पाइँदैन’ दाहालले भने । सो पार्टीका कार्यकर्ताहरु माओवादी केन्द्रमा आउन थालेपछि रिस पोख्न यसो गरेको उनले बताए । तर यसलाई राष्ट्रिय रुपमा नै चुनाबमाथि बढेको सुरक्षा चुनौतीका रुपमा भने आफूले नहेरेको दाहालाको भनाइ छ ।

नेपाली काँग्रेसको समर्थनमा उम्मेद्वार रहेका राप्रपा प्रजातान्किकका विक्रम पाण्डेसँग उनको प्रतिस्पर्धा छ । पाण्डेले विकासको नाममा मत माग्दै छन् । विकासका लागि विक्रम पाण्डे भन्ने चर्चा चितवनमा चल्ने गर्छ । तर मत माग्न घर दौलोमा व्यस्त हुँदा आफुले ‘विकासका लागि प्रचण्ड’ भन्ने भावना मतदातामा पाएको दाहालले बताए ।

‘यो जिल्लाबाट जितेर राष्ट्रको नेतृत्व गर्न सक्ने व्यक्ति चितवनले खोजेका छन् । तीन नम्बर क्षेत्रमा मेरो प्रतिद्वन्दी खासै छैन । म प्रतिद्वन्दी हिनताको स्थीतीमा छु । किन भने काँग्रेसले राजनैतिक पृष्ठभुमि बाहिरको एकजना ठेकेदारलाई समर्थन गरेका कारण म प्रतिद्वन्दी बिहिन जस्तै भए’ दाहालले भने ।

राप्रपा प्रजातान्त्रिक उम्मेद्वार पाण्डे गत संविधान सभामा चितवनको तत्कालिन क्षेत्र नं. ५ बाट विजयी भएका थिए । तर दाहालले पाण्डेलाई राजनैतिक पृष्ठभुमि नभएको बताएका छन् । पाण्डे प्रख्यात निर्माण व्यवसायीसमेत हुन् । उनको कालिका कन्स्ट्रक्स प्रालि नामको निर्माण कम्पनी छ ।

‘कन्ट्रयाक्टरको हैसियतमा ठेक्दारको रुपमा उहाँले राम्रो विकास गर्नु भएको छ । मेरो सmुभाव छ उहाँले आफ्नै जिम्मेवारी लिनुस । जे अनुभव गर्नु, भयो जे सिक्नु भयो त्यही गर्नुस । राजनीति राजनीतिज्ञलाई नै गर्न दिनुस । उहाँ राजनीतिज्ञ र कन्ट्रयाक्टरको जे सम्बन्ध हुन्छ त्यसैमा रहनु उचित हुन्छ’ दाहालले भने ।

पत्रकारहरुसँग बोल्दै दाहालले अबको १० वर्ष विकास निर्माणमा समर्पित हुने बताए । ‘राजनीतिमा लागेपछिको पहिलो १० वर्ष मैले बिचार र राजनीति निर्माणमा नै लगाएँ । अर्को १० वर्ष मैले गणतन्त्र र संघीयताको निम्ति समावेशी समानतको निम्ति युद्धमा लागेर बिताएँ । अर्को १० वर्ष शान्ती प्रकृया र संविधान निर्माणमा योगदान गर्ने ठाउँमा बिताएँ । अबको १० वर्ष विकास निर्माणबाट समाजवादको आधार तयार गर्न बिताउँने छु’ दाहालले विगत र भविश्यको लेखा जोखा सुनाए ।

प्रकाशित मिति: Nov 13, 2017

प्रतिक्रिया दिनुहोस्