Logo
३ आश्विन २०८१, बिहीबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापाको निर्वाचन लेखाजोखा : ओली, सिटौला, कार्की र बिश्वप्रकाशको के छ अवस्था ?

झापा  : पुर्वको उर्वर र सचेत जिल्लाको रुपमा रहेको झापामा ५ वटा निर्बाचन क्षेत्र रहेका छन । झापा जिल्लामा आधादर्जन बढी हेभीवेट उम्मेदवारहरुको भिडन्त यसपटक हेर्नलायक छ । झापामा पुर्बप्रधानमन्त्रीदेखि पुर्वमन्त्री लगायत चर्चित नेताहरु चुनावी दौडमा रहेका छन् । त्यसै पनि पुर्बप्रधानमन्त्री केपी शर्मा ओलीदेखि काँग्रेसका विश्वप्रकाश शर्मासम्म उम्मेदवार बनेका छन । यो चुनावी भिडन्त रोचक र हेर्नलायक रहेको छ ।

झापा क्षेत्र नं. १
झापा क्षेत्र नं. १ मा माओवादीका राम कार्की, काङ्ग्रेसका विश्वप्रकाश शर्मा र फोरमका भक्त सेवाहाङबीच प्रतिस्पर्धा हुँदैछ । कार्की पुर्व सञ्चारमन्त्री हुन भने शर्मा काँग्रेसका प्रभावशाली युवा नेताका रुपमा परिचित रहेका छन । यो क्षेत्रमा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाका वडा नं. ९ र १०, बुद्धशान्ति गाउँपालिकाका वडा नं. ४, ५, ६ र ७ पर्छन् । क्षेत्र नं. १ मा १ लाख ९ हजार ६ सय ७६ मतदाता छन् ।

यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा प्रमुख तथा वडा अध्यक्षहरूले मतका आधारमा नेपाली काङ्ग्रेसको २५ हजार ५ सय १ मत देखिन्छ भने एमालेको २५ हजार ६३ मत छ । यस्तै माओवादी केन्द्रले ९ हजार ८ सय ८८ मत र राप्रपाको १ हजार ३ सय ३३ र सङ्घीय समाजवादी फोरमले ४ सय ७० मत छ । यस आधारमा यहाँ एमाले र माओवादी वाम गठबन्धनको ३४ हजार ९ सय ५१ मत हुन आउँछ । जुन मत नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ९ हजार ४ सय ५० बढी हुनआउँछ ।

झापा क्षेत्र नं. २
झापा क्षेत्र नं. २ मा एमालेकी पवित्रा खरेल, काङ्ग्रेसका उद्धव थापा र फोरमका मणी राई बीच प्रतिस्पर्धा हुँदैछ । क्षेत्र नं २ मा अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, र ९ पर्छन् । यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं. १, २, र ३ पर्छन् भने कन्काई नगरपालिकाका वडा नं. ८ र ९ पर्छन् । क्षेत्र नं. २ मा १ लाख १४ हजार ३ मतदाता रहेका छन् ।

स्थानीय तहमा यो क्षेत्रमा नेपाली काङ्ग्रेसको २२ हजार ५ सय ८५ मत देखिन्छ भने एमालेको २८ हजार ७ सय २४, माओवादी केन्द्रको ७ हजार ५ सय ३, राप्रपाको ४ हजार ९ सय ४० मत देखिन्छ । यस्तै फोरम लोकतान्त्रिकको ५० र सङ्घीय समाजवादी फोरमको ४ सय ३१ मत छ । यहाँ वाम गठबन्धनको मत एकै ठाउँमा मिसाउँदा ३६ हजार २ सय २७ हुन्छ, जुन नेपाली काङ्ग्रेसको मतभन्दा १३ हजार ६ सय ४१ मत बढी हो । यहाँ राप्रपाको झन्डै ५ हजार मत रहेको छ । यदि यो मत पनि वाम गठबन्धनतिर जाने हो भने प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली काङ्ग्रेस भारी मतले पछाडि पर्ने देखिन्छ ।

झापा क्षेत्र नं. ३
झापा क्षेत्र नं. ३ मा राप्रपाका राजेन्द्र लिङ्देन र नेपाली काङ्ग्रेसका कृष्णप्रसाद सिटौलाबीच प्रर्तिष्पर्धा हुँदैछ । यो क्षेत्रमा बाह्रदशी गाउँपालिका, हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ वडा र विर्तामोड नगरपालिकाको वडा नं. ८ पर्छ । यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा झापा ३ मा नेपाली काङ्ग्रेसले २० हजार ५ सय ४५, नेकपा एमालेले १९ हजार ८ सय ८०, माओवादी केन्द्रले ९ हजार ५ सय ८८, राप्रपाले १४ हजार १ सय ५, फोरम लोकतान्त्रिकले २ सय ५ र सङ्घीय समाजवादी फोरमले ७ सय ८६ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनसहित राप्रपाको मत मिसाउँदा ४३ हजार ५ सय ७३ हुन्छ । जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा २३ हजार २८ मत बढी हो ।

झापा क्षेत्र नं. ४
यस्तै क्षेत्र नं. ४ मा एमालेका एलपी साँवा, काङ्ग्रेसका देउकुमार थेवे बीच मुख्य प्रतिस्पर्धा हँुदैछ । यो क्षेत्रमा झापा गाउँपालिका, गौरादह नगरपालिका वडा नं. ९, गौरीगञ्ज नगरपालिका वडा नं. १ र २, कन्काई नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७ र शिवशताक्षी नगरपालिका पर्छन् । यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख ९ हजार ४ सय १ मतदाता रहेका छन् ।

झापा क्षेत्र नं. ५
झापा क्षेत्र नं. ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली, र काङ्ग्रेसका खगेन्द्र अधिकारीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यो क्षेत्रमा गौरीगञ्ज गाउँपालिकाका वडा नं. ३, ४, ५ र ६, गौरादह नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८, दमक नगरपालिका र कमल नगरपालिका पर्छन् । यो निर्वाचन क्षेत्रमा १ लाख ३७ हजार ५ सय ६२ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले पहिलो दल बनेको थियो । मोटामोटी रूपमा नेपाली काङ्ग्रेसको २३ हजार २ सय ५०, नेकपा एमालेको २९ हजार ४ सय ६०, माओवादी केन्द्रको १३ हजार ५ सय ८३, राप्रपाको १० हजार २ सय २२, फोरम लोकतान्त्रिकको ११ सय ९४ र सङ्घीय समाजवादी फोरम लोकतान्त्रिकको १ हजार ३४ मत रहेको छ ।

यस आधारमा यहाँ वाम गठबन्धनसहित राप्रपाको मत जोड्दा कूल ५३ हजार २ सय ६८ हुन्छ । यस्तै नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २४ हजार ४ सय ४४ हुन्छ । अर्थात यहाँ वाम गठबन्धनको नेपाली काङ्ग्रेसको भन्दा २८ हजार ८ सय २४ मत धेरै रहेको छ । भन्दै नरेन्द्र बस्नेतको बाइलाइनमा पुर्वेलीन्यूजमा खबर छ ।  समग्रमा हेर्ने हो भने झापामा बाम गठबन्धन नै अगाडी देखिन्छ । पटक पटक हार बेहोरेका सिटौला,आशालाग्दा युवा बिश्वप्रकाश शर्माहरु यसपटक पनि झापामा पराजय बेर्होछन या जित हासिल गर्छन त्यो भने हेर्न बाँकी नै छ ।

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्