Logo
११ पुस २०८१, बिहीबार
(November 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहज छैन यी शीर्ष नेतालाई चुनाव जित्न : यस्ता छन् प्रतिस्पर्धी

काठमाडौं : अधिकांश शीर्ष नेता प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धामा छन् । उनीहरुलाई एकातिर आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियान चलाउनु पर्ने छ भने अर्कोतिर पार्टीलाई जिताउन चुनावी देश दौडाहामा निस्किनुपर्ने बाध्यता पनि । यतिखेर राजनीतिक दलका नेतृत्वकर्ता र शीर्ष नेतालाई सर्वाधिक चटारो छ ।

राजनीतिक ध्रुवीकरणले तीव्रता पाएको यो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनमा सिट विभाजन गर्नेदेखि लिएर टिकट व्यवस्थापन र आन्तरिक असन्तुष्टि मिलाउन उनीहरुलाई हम्मेहम्मे पर्‍यो । टिकटको लफडा त सकियो, तर प्रतिस्पर्धीहरु कमजोर नभएपछि अब आफैँले कसरी चुनाव जित्ने भन्ने तनाव थपिएको छ । शीर्ष नेताहरुको निर्वाचन क्षेत्रले देशकै ध्यान तानिरहेका बेला उनीहरुका प्रतिस्पर्धी पनि कडा टक्कर दिन कम्मर कसेरै लागि परेका छन्। के होला त यसपटक शीर्ष नेताहरुको चुनावी नतिजा? अहिले नै यसै भन्न सकिने अवस्था छैन । तर, उनीहरुका प्रतिस्पर्धीलाई नजिकबाट नियाल्ने हो भने थोरै अनुमान भने लगाउन सकिन्छ ।

देउवा र भट्टको लगातार तेस्रो चुनावी भेट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । कार्यव्यस्तताका कारण मनोनयन दर्ता गराउन जिल्ला जानसमेत फुर्सद नपाएका देउवाले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराए । उनको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनबाट माओवादी केन्द्रका खगराज भट्टले उम्मेदवारी दर्ता गराएका छन् । भट्ट माओवादी केन्द्रका सचिवालय सदस्य हुन् । एकमात्र निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा देउवा र भट्टसहित छ जना प्रतिस्पर्धामा छन्। त्यस्तै प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय जनमोर्चाबाट लालबहादुर जाग्री, नेपाल दलितबाट रमेश टमटा, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट लक्ष्मीदत्त भट्ट तथा कर्णसिंह रावल स्वतन्त्र उम्मेदवार बनेका छन्। प्रधानमन्त्री देउवाको प्रमुख प्रतिस्पर्धीमा माओवादी नेता खगराज भट्टलाई लिइन्छ।

उनलाई माओवादी जनयुद्धको बेलादेखि नै भद्र नेताको रुपमा लिइन्छ। दुईपटक देउवासँग पराजित हुँदा पनि उनले प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरालाई नै रोजेका छन्। त्यसो त देउवा नेपाली संसदीय राजनीतिका थोरैमात्र नेतामध्येका हुन् जसले २०४८ यताका सबै निर्वाचनमा जीत हात पारेका छन्। देउवाले २०४८, २०५१, २०५६ को संसदीय निर्वाचन तथा २०६४ र २०७० को संविधानसभा निर्वाचनमा लगातार निर्वाचित भएका छन्। उनको व्यक्तित्वले नै मतदाताको मन तान्ने भएपनि देउवालाई यसपटक वाम गठबन्धनका नेताले कडा टक्कर दिने देखिएको छ। एकातिर एमालेको साथ र अर्कोतिर स्थानीय तहको निर्वाचनको नतिजाले भट्टलाई हौस्याएको छ।

स्थानीय तहको मतपरिणामको लेखाजोखाले डडेल्धुरामा नेपाली कांग्रेसभन्दा वाम गठबन्धन ८ हजार ३३७ ले अगाडि देखिएको छ। यहाँ वाम गठबन्धनले २७ हजार ९८० मत प्राप्त गरेको छ भने कांग्रेसले १९ हजार ८२० मत प्राप्त गरेको छ। २०४८ देखि २०७० सम्मका ५ वटा निर्वाचनमा डडेल्धुराबाट सहज रुपमा निर्वाचन जित्दै आएका प्रधानमन्त्री देउवालाई यसपालि देशको बागडोर सम्हाल्नुपर्ने भएकोले व्यस्तता त छँदैछ त्यसमाथि सभापति भएकोले नेपाली कांग्रेसलाई जिताउन चुनावी रणनीति बनाउनुपर्ने अवस्था। यसैबीचमा विपक्षी दुई ठूला कम्युनिस्ट राजनीतिक दल एउटै वाम गठबन्धन बनाएर अगाडि बढेको अवस्थामा आफ्नै क्षेत्रका मतदातालाई जोगाउन पनि परिश्रम गर्नुपर्ने देखिन्छ। उनको व्यक्तित्वले नै चुनावमा मतदातालाई प्रभावित भने पार्नेछ। ओली प्राध्यापक प्रतिस्पर्धी एमाले अध्यक्ष केपीशर्मा ओली झापाको ५ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन्।

२०७० सालको संविधानसभा निर्वाचनमा झापा- ७ बाट निर्वाचित ओलीले कांग्रेस महासमिति सदस्य सुरेश सुब्बा र माओवादीका गोपाल किराँतीलाई पराजित गरेका थिए। वाम गठबन्धनका मुख्य नेता ओलीको प्रतिस्पर्धा यसपटक नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीसँग हुँदैछ। जीवन नै राजनीतिमा होमेर जेलनेल सहेका तथा प्रधानमन्त्रीको रुपमा जनतामाझ राम्रो छाप छाडेका ओलीका प्रतिस्पर्धी भने राजनीतिभन्दा पनि प्रज्ञिक समुदायमाझ परिचित छन्। झापाको गौरादहका स्थानीय बासिन्दा अधिकारी १३ वर्ष काठमाडौंको त्रिचन्द्र क्याम्पसमा प्राध्यापन गरेका व्यक्ति हुन्। झापा आन्दोलनबाट राजनीतिक जीवन सुरु गरेर एमालेको अध्यक्षसम्म बनेका ओली २०६४ को संविधानसभा निर्वाचनमा भने पराजित भएका थिए।

उनलाई तत्कालीन माओवादी नेता विश्वदीप लिङ्देनले झपा ७ बाट पराजित गरेका थिए। जो हालै कांग्रेस प्रवेश गरेका छन्। राजनीतिक छवि नभएका प्रतिद्वन्दी र माओवादीको समेत साथले ओलीलाई चुनाव जित्न सहज देखिन्छ। प्रचण्डलाई पाण्डेको चुनौती माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेपछि चितवन फेरि चर्चामा छ। स्थानीय तह निर्वाचनमा माओवादी नेतृ तथा प्रचण्डकी छोरी रेणु दाहालका कारण चर्चामा आएको चितवन प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचण्ड उम्मेदवार बनेपछि पुन: चर्चामा आएको हो। वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका प्रचण्डका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रजातान्त्रिकका विक्रम पाण्डे छन्।

पाण्डे बहालवाला वन तथा भूसंरक्षणमन्त्री हुन्। चितवन- ३ मा पार्टीकोभन्दा पनि पाण्डेको व्यक्तिगत प्रभाव राम्रो रहेको बताइन्छ। उनी २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा तत्कालीन जनमोर्चा नेपालका नेता अमिक शेरचनसँग चितवन-५ मा झिनो मतान्तरले पराजित भएका थिए। त्यसपछि २०७० को चुनाव जिते। यो क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिका पर्छ। स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका प्रमुखमा प्रचण्डकी छोरीले जितेकी थिइन् भने माडी नगरपालिका प्रमुखमा पनि माओवादीका उम्मेदवार निर्वाचित भएका थिए। त्यतिबेला भरतपुर महानगरपालिकामा माओवादीलाई नेपाली कांग्रेसको साथ थियो।

प्रतिस्पर्धी थिए एमालेका देवी ज्ञवाली। अहिले परिस्थिति फेरिएको छ। भरतपुरमा प्रचण्डकी छोरीलाई जिताएको कांग्रेस प्रचण्डले धोका दिएको महसुस गरिरहेको छ भने त्यतिबेलाका कटु आलोचक देवी ज्ञवाली प्रचण्डलाई जिताउन भनेर लागेका छन्। प्रचण्डलाई जित्न रोक्नेमा माओवादी जनयुद्धका बेला बहुचर्चित माडी घटना बाधक बन्न सक्ने आंकलन गर्नेहरु पनि छन्। २०६२ जेठ २३ गते चितवन माडीको बाँदरमुढेमा माओवादीले छतभर नेपाली सेना देखेर बसमा बम विस्फोट गराउँदा ३८ जनाको मृत्यु भएको थियो, दर्जनौं घाइते भएका थिए। त्यो घटनाले अहिले पनि माओवादीलाई पिरोल्न छाडेको छैन। त्यसैले प्रचण्डले क्षमायाचनादेखि दोषीलाई कारबाही गर्नेसम्मको प्रतिवद्धता व्यक्त गरिरहेका छन्। माडी नगरपालिकामा हात पारेको जितले भने प्रचण्डको मनोबल केही बढेको छ।

उम्मेदवारी दर्तापछि केही दिन चितवन बसेका प्रचण्डले आफ्नो प्रतिस्पर्धी उम्मेदवारको पार्टीका जिल्ला अध्यक्षलाई नै आफ्नो पार्टीमा भित्र्याइसकेका छन्। राप्रपा प्रजातान्त्रिकका चितवन अध्यक्ष बद्रि तिम्सिना केही दिनअघि माओवादी केन्द्रमा प्रवेश गरेका थिए। यसले प्रचण्डलाई थप रातहत मिलेको छ। दुई दशक बढी भूमिगत राजनीति गरेका प्रचण्डले २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं- १० र रोल्पाबाट चुनाव जितेका थिए। २०७० मा काठमाडौं १० बाट पराजित भएपनि सिरहा ५ बाट चुनाव जिते। दोस्रो चरणको निर्वाचनमा चर्चामा रहेको चितवन- ३ का उम्मेदवारलाई जित्न आफ्नै पार्टीभित्रको मतको भर भने छैन।

प्रचण्डको जित एमाले र पाण्डेको जित कांग्रेसको मतमा निर्भर छ। महन्थ ठाकुरलाई बागीको टक्कर मधेसमा राजनीति गरिरहेका भिन्न-भिन्न ६ राजनीतिक दलहरुलाई एक बनाएर नेतृत्व लिएका महन्थ ठाकुरलाई पार्टीका पक्षमा मत माग्नु त छँदैछ, आफूले जित्न पनि बल लगाउनुपर्ने भएको छ। यसअघि सर्लाही क्षेत्र नम्बर- ६ बाट निर्वाचित भएका ठाकुर यसपटक महोत्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन्। समानुपातिक सूचीमा रहेर पार्टीको निर्वाचन कमाण्ड सहाल्ने र प्रदेश २ को मुख्यमन्त्री बन्नका लागि उपेन्द्र यादवले नेतृत्व गरेको फोरमसँग सहकार्य गरेर प्रदेशसभा उम्मेदवार बन्ने चर्चका बीच उनी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। उनलाई महोत्तरी- ३ मा केही समय अघि राजपा प्रवेश गरेका तर टिकट नपाएपछि स्वतन्त्ररुपमा मैदानमा उत्रिएका चन्द्रेश्वर झा मुख्य चुनौती बनेका छन्।

सर्लाहीबाट संविधानसभाका दुवै निर्वाचन जितेका ठाकुरले जन्मभूमीको मायाले महोत्तरी आएको भने पनि उनलाई झाको उम्मेदवारीले तनाव थपिएको छ। झा तिनै व्यक्ति हुन् जसले २०७० सालको संविधानसभा चुनावमा स्वतन्त्ररुपमा मैदानमा उत्रिएर पनि जितेका थिए। झालाई राजपाको उम्मेदवार बनेर चुनाव लड्न सहज होला भन्ने लागेको थियो तर ‘जन्मभूमीले बोलाएकोले चुनाव लड्न आएँ’ भन्दै ठाकुर महोत्तरी ३ मा आएपछि उनी बागी बनेका हुन्। ठाकुरको जन्मभूमी पिपरा गाउँपालिकामा पर्छ। मधेसी ब्राह्मण समुदायको बाहुल्य रहेको र झा सोही समुदायका नेता भएकाले ठाकुरलाई चुनाव जित्न अनुमान गरेभन्दा थप परिश्रम गर्नुपर्ने भएको छ। ठाकुरलाई नेपाली कांग्रेसले समर्थन गर्ने भनिए पनि सो क्षेत्र झाको क्षेत्र भएकोले मिहिनेत गर्नुपर्ने भएको हो। त्यसो त कांग्रेसको केन्द्रको दबाबले सादगी नेता बजरंग नेपालीले उम्मेदवारी फिर्ता लिनुपर्ने बाध्यता आएपछि स्थानीय कार्यकर्ता र नेतामा असन्तुष्टी छाएको छ।

राजनीतिमा नै जीवन समर्पण गरेका नेपाली उम्मेदवारी फिर्ता लिनुपरेपछि निरास छन्। आफ्नै दलबाट बागी र असन्तुष्ट कांग्रेसको साथ ठाकुरलाई चुनाव जित्न मुख्य चुनौती हुन्। बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको चर्चित प्रतिस्पर्धा देशको प्रधानमन्त्री र उपप्रधानमन्त्री भइसकेका गोरखा क्षेत्र नम्बर २ का उम्मेदवारहरु डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ घरदैलो पुगिरहेका छन्। उनीहरु दुवै आफूलाई भोट दिन हात जोडिरहेका छन्। राष्ट्रिय राजनीतिमा स्थापित यी दुई नेता जसरी पनि चुनाव जित्ने रणनीतिमा छन्। जसमा उनीहरु एकअर्कालाई विभिन्न लान्छाना लगाउनसमेत पछि परेका छैनन्। यी दुई नेताको सम्बन्ध अहिले कटुताको उत्कर्षमा छ। राजनीतिको सुरुवातदेखि नै यी दुईको सम्बन्ध न त धेरै कटु नै थियो न घनिष्ट नै।

एउटै पार्टीमा छँदा बाबुरामले नारायणकाजीलाई आफूलाई नै खतरा हुने प्रतिस्पर्धी कहिल्यै ठानेनन्, बरु चाहिएको बेला उपयोग गरे। ‘धोबिघाट गठबन्धन’ का रुपमा भएको त्यस्तै एउटा प्रयोगले बाबुरामलाई प्रधानमन्त्री बनाएको थियो। त्यसअघि कम्युनिस्ट राजनीति गरे पनि बाबुराम जनयुद्धमा लागे भने नारायणकाजी भूमिगत नै रहेर जनयुद्धको आलोचना गरिरहे। पछि ७ दल र माओवादीको सम्बन्ध सुत्र बनेका नारायणकाजी २०६५ पार्टी नै एकीकरण गरेर माओवादी उपाध्यक्ष बने। अहिले बाबुराम माओवादी पार्टीको औचित्य सकिएको नयाँ शक्ति बनाएर त्यसको नेतृत्व गरिरहेका छन्। संविधान जारी भएलगत्तै २०७२ असोज ९ गते पार्टी परित्याग गरेका भट्टराई कांग्रेसको साथ लिएर चुनावी मैदानमा छन्। संविधानसभा निर्वाचन २०६४ र २०७० मा उनी गोरखाबाटै निर्वाचित भएका थिए। त्यतिबेला उनले निर्वाचन क्षेत्र भने फरक-फरक (२ र १) रोजेका थिए।

पहिलो निर्वाचनमा उनको विजय ऐतिहासिक बनेको थियो। उनले नेपाली कांग्रेसका उम्मेदवारलाई नेपाली संसदीय चुनावको इतिहासमै सबै फराकिलो मतान्तरले पारजित गरेका थिए। यता नारायणकाजी भने २०६४ को संविधानसभा निर्वाचनमा सहभागी भएनन्। ०७० मा उनी मकवानपुर २ बाट पराजित भए। अहिले आमने/सामने भएका यी दुई नेता गोरखाको विकासको लागि आफू निर्वाचित हुनुपर्ने दलिल पेस गरिरहेका छन्। बाबुराम भट्टराई ‘गोरखाको विकास मैले गरेको हुँ,’ भनिरहेका छन्। उनले भन्ने गरेका छन्, ‘विकासका कति काम भए, ती सबै जनताले विचार गर्नुभएकै छ। मलाई विश्वास छ, विगतमा मैले गोरखाको विकासको नक्सा जसरी कोरेको छु। त्यसलाई पूरा गर्न र रंग भर्न गोरखा- २ का जनताले मलाई जिताउनु हुनेछ।’

उता नारायणकाजी बाबुरामको भनाइको खण्डन गर्दै भन्छन्, ‘बाबुरामले कसरी मैले गरेको भनेर भन्ने? बाबुरामले गर्थे भने माओवादी केन्द्र छाडेपछि किन गर्न नसकेको? जे गरेको छ, माओवादीले गरेको हो। मलाई जिताउनुस्, गोरखामा विकासको मूल फुट्छ।’ संगठनात्मक भोटमा नारायणकाजी बलियो भए पनि व्यक्तिगत प्रभाव राम्रो रहेका भट्टराईलाई चुनाव जित्न संगठनात्मक भोटले खासै योगदान गर्नसक्ने देखिँदैन। उनलाई कांग्रेसले साथ दिएको छ। अर्कोतर्फ नारायणकाजीको साथमा एमाले छ। माओवादी छाडेको झण्डै २ वर्षपछि ‘लाल सलाम’ गरेर वाम गठबन्धनमा छिरेको १० दिनमै त्यसलाई तिलाञ्जली दिएका बाबुरामलाई जित्न कांग्रेसको भर पर्नु परेको छ। अर्कोतर्फ कांग्रेस-नयाँ शक्ति गठबन्धनका कारण एमालेको अधिकांश भोट आफूतर्फ तान्नुपर्ने बाध्यतामा नारायणकाजी छन्।

राजेन्द्रको क्रेज र विमलेन्द्रको लिगेसी एउटै मैदानमा धनुषा- ३ मा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिबीच चुनावी भिडन्त हुँदैछ। जनकपुर उपमहानगर क्षेत्रमा पर्ने धनुषा क्षेत्र नम्बर-३ मा स्थानीय तह निर्वाचनमा राजपाले भारी मतले जित हात पारेको थियो। राजेन्द्रलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले समेत मैदान खाली गरिदिएपछि त्यो क्षेत्र सुरक्षित लागेको हो। तर, उनले ‘हेभीवेट’ प्रतिस्पर्धी पाएका छन्। कांग्रेसका पूर्वमहामन्त्री एवम् मधेसका लोकप्रिय नेता महेन्द्र नारायण निधिका छोरा पूर्वमहामन्त्री विमलेन्द्र निधि धनुषा- ३ बाट चुनावी मैदानमा छन्। विमलेन्द्रको यो पुस्तैनी क्षेत्र हो। जहाँ उनका बुबालेसमेत राजनीति गरेका थिए। उक्त क्षेत्रबाट निधि पटक-पटक निर्वाचित भइसकेका छन्। निधि- २०५१ सालको मध्यावधि चुनावमा विजयी भएका थिए भने २०५६ सालमा राप्रपाका कृष्णप्रताप मल्लसँग पराजित भए।

२०७० सालको चुनावमा पनि निधि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। यसरी बुबाको लिगेसी र आफैँले निर्वाचन जित्दै आएको क्षेत्र निधिलाई विश्वस्त हुने आधार हो। निधिका लागि महतो नयाँ तर बलिया प्रतिस्पर्धी हुन्। उता निधिलाई पराजित गर्न वाम गठबन्धनको मत आफूलाई पर्ने आशमा राजेन्द्र महतो छन्। झापामा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्न राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई वाम गठबन्धनले साथ दिने घोषणा गरेझैँ यता त्यस्तो नगरे पनि उनको आशा त्यहीँ छ। वाम गठबन्धनले पनि उम्मेदवार नै नउठाएको भने होइन। निधि र महतोजस्ता हेभीवेट भिडिरहेको मैदानमा वाम गठबन्धनबाट माओवादीका रामसिंह यादव उम्मेदवार छन्। दुई भेट्रानका तुलनामा यादव कमजोर उम्मेदवार हुन्। राजेन्द्र महतो यसअघि संविधनसभा निर्वाचन- २०७० मा सर्लाही ४ बाट निर्वाचित भएका थिए। संविधान निर्माणपछिको मधेस आन्दोलनका क्रममा अग्र मोर्चामा देखिएका महतो मधेसमा लोकप्रिय उम्मेदवार हुन्।

उता निधि भने मधेस आन्दोलनका बेला सरकार त्यसमा पनि मधेसी समुदाय आन्दोलनमा भएका बेला गृहमन्त्री थिए। जसमा सरकारले अत्यधिक बल प्रयोग गरेको र त्यसका नेतृत्वकर्ता निधि भएको कुरा महतोको चुनावी प्रचारको विषय भएको छ। निरन्तर निर्वाचित भएर पनि निधिले धनुषा- ३ लगायत सांस्कृतिक नगरी जनकपुरको विकास गर्न नसकेकाले आफू आएको मतदातालाई बताउँदै आएका छन्। उनको चुनावी नारा मधेस मुद्दा त छँदैछ त्यसमा धेरथोर विकासका मुद्दा पनि जोडिएका छन् । @थाहखबर

प्रकाशित मिति: Nov 8, 2017

प्रतिक्रिया दिनुहोस्