संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा उभ्याउँदै राप्रपाको घोषणापत्र सार्वजनिक
परिवर्तन पक्षधर शक्ति कांग्रेस, एमाले र माओवादीमाथि कमल थापाको हमला
काठमाडौं : संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा उभ्याउँदै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार बिहान राजधानीमा कार्यक्रम गरी राप्रपा अध्यक्ष थापाले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि पार्टी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
राप्रपाले संविधानसभा र स्थानीय तहको घोषणापत्रमा उल्लेख भएको हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थालाई निरन्तरता दिएको छ । अध्यक्ष थापाले नेपालको संविधान र परिवर्तनलाई आत्मसात् गर्दै हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको मागमा अडिग रहेको बताए ।
राप्रपाले आफ्नो घोषणापत्रमा २०६२–६३ पछिको परिवर्तनलाई आत्मसाथ गर्नुको साटो इतिहास बनेको राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्दै गणतन्त्र, धर्मनिरपेक्षता र संविधानप्रति नै कटाक्ष गरेको छ ।
सो पार्टीले नेपालको प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिहरु उग्रबामपन्थी धरापमा फस्दै गएको दावी गर्दै त्यसबाट मुक्त गर्न राजसंस्थाको पनस्थापना गर्नुपर्ने विकल्प अघि सारेको छ ।
राप्रपाले मंगलबार जारी गरेको चुनावी घोषणापत्रमा प्रजातान्त्रिक शक्ति भनिएको नेपाली कांग्रेसप्रति लक्षित गर्दै सो पार्टी उग्रबामपन्थी धरापमा फस्दै गएको उल्लेख छ । एक दशककोे राजनैतिक अभ्यासलाई आधार बनाएर राप्रपाले उक्त निश्कर्ष निकालेको पनि घोषणापत्रमा छ ।
त्यस्तै राप्रपाले उग्रवामपन्थी समुहले आफ्नो अभिष्ट पुरा गर्न अघि सारेको रणनीतिक एजेण्डालाई नेपालका प्रजातान्त्रिक शक्तिहरुले स्वीकार गर्न बाध्य हुनुपरेको जनाएको छ । घोषणापत्रमा कुनै पनि पार्टीको नाम उल्लेख नगरेपनि राप्रपाले नेपालका सवै कम्युनिष्ट पार्टी र प्रजातान्त्रिक भनिएको नेपाली कांग्रेसमाथि पनि घुमाउरो तरिकाले हमला गरेको छ ।
राप्रपाले आफनो घोषणापत्रमा विद्यमान संकटबाट राष्ट्रलाई मुक्त तुल्याउन सक्ने नैतिक, वैचारिक एवं संगठनात्मक हैसियत प्रमुख भनिने राजनीतिक दलहरुले गुमाई सकेको पनि जनाएको छ ।
यी राजनैतिक दलहरुमा देशलाई विद्यमान संकटबाट मुक्त तुल्याउन सक्ने दूरगामी सोचाइ, सक्षम नेतृत्व र इमानदारिताको सर्वथा अभाव रहेको भन्दै माओवादी केन्द्रको जनाधार र विश्वसनियता तीव्र गतिमा ह्रासोन्मुख भएको जनाएको छ ।