Logo
११ पुस २०८१, बिहीबार
(November 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो क्षेत्रमा निर्वाचन पर्यबेक्षण गर्न युरोपेली मिसनलाई ओलीको आग्रह

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले युरोपेली संघको निर्वाचन पर्यबेक्षण मिसनलाई आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन पर्यबेक्षण गर्न आग्रह गर्नुभएको छ । ओलीलाई भेट्न पार्टी संसदीय दलको कार्यालय सिंहदरवारमा सोमबार बिहान युरापेली संघकी सांसद जेलजाना जोब्को नेतृत्वको मिसन प्रतिनिधिमण्डल पुगेको थियो । जोब्को नेतृत्वको पर्यबेक्षण समुहमा १ सय पर्यबेक्षक रहने बताइएको छ । ओलीको निर्वाचन क्षेत्र झापा ५ हो ।

निर्वाचनलाई स्वतन्त्र, निस्पक्ष र धाँधलीरहित बनाउन आफ्नो पार्टीको भूमिका सकारात्मक भूमिका रहेको र रहने भन्दै त्यसको प्रत्यक्ष अवलोकन गर्नका लागि आग्रह गर्नुभएको हो । भेटवार्तामा सहभागि एमाले पोलिटब्यूरो सदस्य बिष्णु रिमालका अनुसार, टोलीले नेपालको अगामी निर्वाचनको पर्यबेक्षण गर्न चाहेको भन्दै त्यसमा पहुँच दिन आग्रह गरेको थियो । साथै एमाले पार्टीबाट समेत त्यसमा सहयोगको आग्रह गरेको थियो ।

‘तपाईहरुलाई निर्वाचन पर्यबेक्षणका लागि हामी स्वागत गर्छौ । हाम्रो पार्टीको तर्फबाट तपाईहरु पूर्ण सहयोग हुनेछ’ ओलीको भनाई उद्धृत गर्दै रिमालले भन्नुभयो,‘नो थिङ टु हाइड’ । निर्वाचन निस्पक्ष गराउनेवारेमा निर्वाचन आयोगको भूमिका र प्रतिबद्धताका बारेमा मिसनले राखेको जिज्ञाशामा अध्यक्ष ओलीले ‘एमाले कसैलाई दोष’ लगाउने पक्षमा नरहेको भन्दै आयोगले गर्नुपर्ने काम गरिरहेको बताउनुभयो । ‘मतपत्रको जो मुद्दा उठाइयो, त्यो वास्वतमा मुद्दा नै थिएन । निर्वाचन नगर्नका निम्ति गरिएको प्रयासमात्र थियो । निर्वाचन सार्नका निम्ति प्रयास भएका थिए, ती सफल भएनन, हुँदैनन्’ उहाँले भन्नुभएको थियो ।

त्यसपछि युरोपेली पर्यबेक्षण मिसनले स्थानीय तहको निर्वाचनवारे जिज्ञाशा राखेको थियो । त्यसको जवाफमा ओलीले सत्तामा बसेका शक्तिहरुले केही केही ठाउँमा धाँधली र बेइमानी गरेको भन्दै तर एमालेको तर्फबाट निर्वाचनलाई निस्पक्ष सम्पन्न गर्न नेतृत्वदायी भूमिका खेलिएको बताउनु भयो ।

मिसनको चौथो जिज्ञाशा वाम तालमेलबारे थियो । मिसनका तर्फबाट वाम तालमेल किन र के का लागि गरिएको भन्ने प्रश्न राखिएको थियो । जबाफमा ओलीले नेपाललाई स्थायी सरकार दिन, बिकास र समृद्धितर्फ अघि बढाउनका लागि वाम तालमेल भएको बताउनु भयो । ‘यो गठबन्धन निर्वाचनसम्मका लागि हो ।

त्यसपछि पार्टी एकिकरणको प्रक्रिया शुरु हुन्छ’ ओलीले भन्नुभयो । नेपालको निर्वाचन पर्यबेक्षण गर्न चार दिन अघि मिसन नेपाल आएको हो । मिसनका प्रेस अधिकृत इश्वरदेव खनालका अनुसार, मिसनले मंगलबार होटल याक एण्ड यतीम पत्रकार सम्मेलन गरी निर्वाचन पर्यबेक्षणबारे जानकारी गराउनेछ ।

प्रकाशित मिति: Nov 6, 2017

प्रतिक्रिया दिनुहोस्