Logo
२२ पुस २०८१, सोमबार
(November 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘वैदेशिक रोजगारीमा रहेका नागरिक मतदानबाट वञ्चित हुनु दुर्भाग्युपूर्ण’

काठमाडौँ : वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका नेपाली नागरिकलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्ने व्यवस्था सरकारले मिलाउन नसक्नु दुर्भाग्यपूर्ण भएको एक कार्यक्रमका वक्ताले बताएका छन् । सबै प्रमुख दलले विगत १० वर्षअघिदेखि नै आफ्नो चुनावी घोषणापत्रमा विदेशमा रहेकालाई मतदानको अधिकार व्यवस्था गरिने लेख्दै आए पनि कार्यान्वयनमा उदासीनता देखाएको कार्यक्रमका सहभागीले बताए ।

मानवाधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले आयोजना गरेको ‘राजनीतिक दलहरुका चुनावी घोषणापत्र र आप्रवासी कामदारका सरोकार’ विषयक छलफल कार्यक्रमका सहभागीले विदेशमा रहेका कामदारलाई मतदानको अधिकारको व्यवस्था गर्न आवश्यक प्रक्रिया छिटो गरेर पाँच वर्षपछि हुने निर्वाचनमा उनीहरुको सहभागिता सुनिश्चितता गरिनुपर्ने सुझाव दिए ।

नेपाली काँग्रेसका प्रतिनिधि सीताराम खत्रीले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित राख्ने विषयमा केन्द्रित रही आफ्नो पार्टीले घोषणापत्रमार्फत विभिन्न कार्यक्रम सार्वजनिक गरेको बताए । नेकपा (एमाले)का प्रतिनिधि वीरबलकाजी राईले वैदेशिक रोजगारीमा रहेका कामदारको हकहितलाई संरक्षण गर्दै स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्नेमा आफ्नो पार्टीले घोषणापत्रमा जोड दिएको जानकारी दिए ।

राष्ट्रिय जनमोर्चाका प्रतिनिधि हिमलाल पुरीले पहिलो चरणमा नेपालीको संख्या अधिक रहेका केही देशबाट शुरु गरेर क्रमशः अन्य देशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न सकिने बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रवासी नेपाली समन्वय समितिका महासचिव सोमप्रसाद लामिछानेले दलहरुले आप्रवासी कामदारका विषयमा घोषणापत्रमा लेखेका विषय लेखनमा मात्रै सीमित हुने गरेको टिप्पणी गरे ।

पिपुल फोरमका सल्लाहकार सोमप्रसाद लुइँटेलले विश्वका ११५ मुलुकले आप्रवासी कामदारलाई मतदानको व्यवस्था मिलाएको जानकारी दिँदै नेपालले पनि विदेशस्थित नेपाली नियोगमा मतदान गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति: Nov 3, 2017

प्रतिक्रिया दिनुहोस्