Logo
११ पुस २०८१, बिहीबार
(November 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धादिङ बस दुर्घटनामा मृतकको संख्या ३२ पुग्यो, थप एकको शव फेला

गत शनिबार घाटबेंसीमा भएको बस दुर्घटनापछि बेपत्ता भएका ४ जनामध्ये एक पुरुषको शव बिहीबार फेला परेको छ । बस डुबेकै स्थानबाट शव पानीको सतहमा आएपछि प्रहरीले झिकेको हो । उक्त शव टिकट काटेर बसमा चढेका ३० वर्षीय अभिनन्द चौधरी हुन सक्ने अनुमान गरिएको छ ।

गत ११ गते शनिबार भएको दुर्घटनामा डुब्दै गरेको बसबाट तत्काल १६ जना यात्रुको उद्धार गरिए पनि डुबेको बसभित्रबाट ३१ जनाको शव निकालिएको थियो । ३० जनाको सनाखत भई परिवारलाई जिम्मा लगाइएको थियो । सनाखत हुन बाँकी एक जनाको शव प्रहरीले काठमाडौं शिक्षण अस्पतालमा पठाएको छ ।

आफन्तजनले औपचारिक सनाखत नगरुन्जेल किटान गर्न नमिल्ने गजुरीस्थित ईलाका प्रहरी ईन्चार्ज वरुणबहादुर सिंहले बताए । बस उछिट्टिने बेला वेपत्ता भएकाहरु गहिरो तलाउमा परेर पौडिन नसकेर वा तत्काल उद्धार हुन नसकी पानीमै डुबेको हुन सक्ने प्रहरी निरीक्षक सिंहले बताए । बिहीबार फेला परेको शवसहित मृत्यु हुनेको संख्या ३२ पुगेको छ । दुर्घटनामा बस चालक र २ जना यात्रु अझै फेला परेका छैनन् ।

छानबिन गरी फर्कियो टोली

त्रिशूली नदीमा भएको बस दुर्घटना छानबिन गर्न सरकारद्वारा गठित छानबिन टोली घाटबेंसीको दुर्घटनास्थल आएर फर्केको छ । गृह मन्त्रालयका सहसचिव डाक्टर मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठित टोलीले बुधबार घटनास्थलको अनुगमन र निरीक्षण गरेका हुन् ।

टोलीले सडकको अवस्था, सडक छेउमा राखेका कन्फिडेन्ट वाल र ग्याभिन जाली सबैको निरीक्षण गरेका छन् । घटनाबारेमा जाँचबुझ गर्न घटनास्थल आएका छानबिन आयोगको सदस्य भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयका सहसचिव राजेन्द्र शर्मा काफ्लेले तीव्रगतिका कारण बस दुर्घटना हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् ।

प्रकाशित मिति: Nov 2, 2017

प्रतिक्रिया दिनुहोस्