Logo
३ कार्तिक २०८१, शनिबार
(October 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

IGP प्रकाश अर्यालविरुद्ध अवहेलना मुद्दा दर्ता : एक वर्ष कैद माग

ज्यान मुद्दामा सर्वस्व जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले दिएको वारेन्ट नोटिसको आदेश पालना नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित अन्यविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले यसअघि सात दिनभित्र पक्राउ गर्नु भनी जारी भएको आदेशको कार्यान्वयन नभएपछि मंगलबार उनैले अवहेलना निवेदन दर्ता गराएका हुन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई अवहेलनमा एक वर्ष कैद र १० हजार जरिवाना हुनुपर्ने माग गरेका छन् ।

न्याय प्रशासन ऐन २०७३ दफा १७ अनुसार अर्याललाई हदैसम्मको कारबाही माग गरिएको छ। अदालतको सुनुवाइबाट अर्याल दोषी देखिए १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ । अदालतले अवहेलनामा सजाय गरेमा उनीमाथि फौजदारी अभियोग प्रमाणित हुनेछ र ठहर भए महानिरीक्षक पद नै धरापमा पर्नेछ ।

निवेदनमाथि बुधबार सुनुवाइ हुनेछ । निवेदनमा ढुंगेललाई पक्राउ गर्नका लागि विशेष कार्यदल गठन गरी हरेक २४ घन्टामा पक्राउ प्रयासबारे अदालतलाई जानकारी गराउन पनि माग गरिएको छ । २०७४ बैसाख १ गते त्रिपाठीले नै दायर गरेको निवेदनमा सर्वोच्चले ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न वारेन्ट नोटिस जारी गरेको थियो । तर, त्यसपछि प्रहरीले उनी नेपालमै नरहेको दाबी गर्दै सर्वोच्चमा प्रत्येक महिना अनुसन्धान प्रतिवेदन बुझाउने गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले हत्या अभियोगमा दोषी ठहर भएका ढुंगेलले सार्वजनिक अभिनन्दन लिँदै हिँडेको र अदालतको फैसलालाई चुनौती दिएको भन्दै उनलाई एक साताभित्र पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो ।

‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई सात दिनभित्र पक्राउ गरी जानकारी गराउनू,’ प्रहरी महानिरीक्षकका नाममा जारी भएको आदेशमा भनिएको थियो । सर्वोच्चले मिति तोकेरै ढुंगेललाई पक्राउ गर्न आदेश दिएकाले कार्यान्वयन हुन सकेको थिएन ।

२०६१ मा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो ।

पछिल्लोपटक २०७३ फागुन ३० गते ढुंगेललाई गृहजिल्ला ओखलढुंगामा क्रियाशील माओवादी सम्बद्ध दलले नागरिक अभिनन्दन गरेका थिए । नयाँ शक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीले संयुक्त रुपमा ढुंगेललाई अभिनन्दन गरेका थिए ।

प्रकाशित मिति: Oct 24, 2017

प्रतिक्रिया दिनुहोस्