Logo
११ पुस २०८१, बिहीबार
(October 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिर्थ–गोविन्द र उजिरबारे बहस : पत्रकार महासंघ ‘व्यापारी’ को प्रवेश भएकै हो ?

नेपाल पत्रकार महासंघको सभापतिमा प्रेस चौतारीले तीर्थ कोइराला तथा नेपाल प्रेस सेन्टर र प्रेस युनियनका साझा उम्मेदबारका रुपमा गोविन्द आचार्यले उम्मेदवारी दिनुभएको छ । उता, पत्रकार उजीर मगर पनि सभापतिमा भिडन तम्सिँदै हुनुहुन्छ । समीकरण हेर्दा मुलतः गोविन्दजी र तीर्थजीबीच भिडन्त हुने पक्का छ ।  सामाजिक संजाल, कोठे बैठक, चिया पसल र रेस्टुराँहरूमा दुबै प्यानलले आ–आफ्नो पक्षमा लविङ गरिरहेका छन् । पत्रकारहरूलाई त चुनाव लागेको छ नै, विभिन्न दलका नेताहरू पनि कसलाई जिताउने र कसलाई हराउने भनेर पार्टी प्यालेसदेखि बारहरूसम्म सक्रिय देखिन्छन् ।

– कुसुम भट्टराई

संसदीय चुनावमाझैं पत्रकारहरूको चुनावमा पनि अनेक तिकडम भइरहेको छ, यो बाढीको मौसममा पैसासँगै मदिराकोे समेत भेल बग्न थलिसकेको छ ।   हामीजस्ता श्रमजिवी पत्रकारले कसलाई जिताउने ? यो गम्भीर प्रश्न हो ।  मञ्जुरत्न शाक्यलाई ‘मण्डले’ भन्दै पेशागत हकहितका लागि लड्न गोविन्द वियोगीहरूको नेतृत्वमा बहुदलवादी पत्रकारहरू महासंघमा हाबी भए । तर, अन्ततः यसमा राजनीतिक दलसमर्थित पत्रकारहरूकै हालीमुहाली भयो र त्यो अहिलेसम्म कायमै छ । राजनीतिरहित क्षेत्र त समाजमा कुन होला र ? कपाल काट्ने हजामदेखि कुचीकारसम्म, जग्गा दलालदेखि क्यासीनो कर्मचारीसम्म राजनीतिक संगठनहरू खुलेको बेला पत्रकारजस्तो राज्यको चौथो अङ्गलाई राजनीतिक दलहरूले अछुतो छोड्ने कुरा आएन ।

अतः पत्रकार महासंघमा दलीय टिकट र दलीय गठबन्धनकै आधारमा नेतृत्व चयन हुनु स्वाभाविक हो । अब यो ठिक हो कि हैन भन्नेबारे अलग्गै लेखमा चर्चा गरौँला । यसमा चाहिँ तीर्थ कोइरालाजीले आफु राजनीतिक गठबन्धनरहित शुद्ध पेशागत हकहितका लागि खडा भएको उम्मेदवार हुँ भनी दाबी गर्नुभएको सन्दर्भमा चर्चा गर्न चाहन्छु ।  पहिलो कुरा तीर्थजी आफै राजनीतिक उम्मेदवार हुनुुहुन्छ । उहाँ एमालेको कोटाबाट सभापति हुनुभएको स्पष्ट छ । यसका बारेमा पर्दा पछाडि भएका केही चलखेलको चर्चा गरिहालुँ । तीर्थ कोइरालाजी व्यापारी अजय सुमार्गीले लगानी गरेको थाहाखबर मिडियामा कार्यरत हुनुहुन्छ । सुमार्गीजी कुनैबेला हेटौँडामा रुपचन्द बिष्टसँगै साँस्कृतिक कार्यक्रमहरूमा मादल बजाउँदै हिँड्नुहुन्थ्यो ।

मैले एकपटक ०४६ सालतिर रुपचन्द बिष्टसँगै कालीमाटीमा उहाँलाई देख्दा उहाँ टुप्पी पनि पाल्नुहुन्थ्यो जस्तो लाग्छ । शान्तिप्रकृया सुरु भइसकेपछि सुमार्गीजी रातारात धनी हुनुभयो । ठिकै छ, धनी हुनु सबैको चाहनाको कुरा हो, तर स्वयं मकवानपुरका उहाँका सहकर्मीहरू पनि उहाँले रातारात कमाएको धन देखेर विष्मयको जिब्रो टोक्छन् ।  तीर्थजीलाई महासंघको सभापतिमा उम्मेदवार बनाउनुमा व्यापारी अजय सुमार्गीको पनि विशेष भूमिका रहेको गाइगुईं थाहाखबरतीर चल्न थालेको छ । कान्तिपुर मिडिया ग्रुपलाई ‘तह लगाउन सक्ने’ उम्मेदवारका रुपमा कान्तिपुरमै काम गरिसकेका तीर्थलाई सुमार्गीजीले अघिसारेको चर्चा पनि पत्रकार वृत्तमा चलीरहेको छ । खास कुरा के हो ? यसबारे ‘थाहा चाहियो’ भन्दैछन्, पत्रकार ।

तीर्थलाई महासंघको सभापतिका रुपमा समर्थन गर्नुपर्ने भन्दै सुमार्गी सुरुमा माओवादी नेता पम्फा भुषालकहाँ पुग्नुभएको रहेछ । पम्फा भुषालजीले ‘श्रमजिवी पत्रकारका पक्षमा काम गरेका धेरै योग्य उम्मेदवारहरू अरु पनि हुनुहुन्छ तीर्थजीलाई समर्थन गर्न सकिन्नँ’ भन्ने जवाफ दिएपछि सुमार्गीजीले माओवादी केन्द्रका अर्का नेता अग्नी सापकोटाजीलाई भेट्नुभएछ । अग्नी सापकोटाजीबाट पनि सकारात्मक जवाफ नआएपछि माओवादी अध्यक्ष प्रचण्डलाई नै भेटेर समर्थनको याचना गरिएको रहेछ । प्रचण्डबाट पनि समर्थन नपाएपछि बल्ल तीर्थ कोइरालाजी एमालेको शरणमा पुग्नुभएको एमाले निकट सुत्र बताउँछ । हुन त एमालेको शरणमा जानुअघि तीर्थजीले कांग्रेस नेता डा. प्रकाशशरण महतलाई पनि भेट्नुभएको हो । तर, माओवादी र कांग्रेसको कोटाबाट टिकट पाउन नसकेपछि उहाँले सुमार्गीमार्फत एमाले नेताहरूकहाँ धाएको ‘खबर’ ‘थाहा’ भएको छ ।

योगेश भट्टराईलाई भेट्नुअघि तीर्थले प्रेस चौतारीका नेता गणेश बस्नेतलाई भेटी चौतारीका तर्फबाट आफुलाई सभापतिमा खडा गराउन पहल गर्न आग्रह गर्नुभएको थियो । पत्रकार बस्नेतजीले भन्नुभएछ ‘तपाईले प्रेस चौतारीको सदस्यता नवीकरण गर्नुभएको छैन । तपाईलाई किन सभापति बनाउने ? हामीकहाँ चौतारीकै पुर्व अध्यक्षहरू त्यसका हकदार छन् ।’  चौतारीका सदस्यहरूबाट पनि सकारात्मक जवाफ नपाएपछि तीर्थजीले एमाले नेता योगेश भट्टराईजीलाई भेटनुभयो । नयाँ बानेश्वरस्थित श्रीमुक्ति टावरको आठौं तलामा साउना र स्टीम बाथ गरिसकेपछि एमाले नेता योगेश भट्टराईजीसँग तीर्थजीले भन्नुभएछ, ‘तपाई र म जिल्लाबासी साथी । मैले जित्नु भनेको तपाईंले जितेसरह हो । मलाई जिताउने तारतम्य मिलाउनुप¥यो ।’  योगेशजीले पनि जिल्लाबासीलाई महासंघमा जिताउन भन्दै तीर्थजीलाई सल्लाह दिनुभएछ, ‘हाम्रो पार्टी अध्यक्ष केपी ओलीलाई भेटनुस् ।’

अध्यक्ष ओलीसँग भेटेपछि तीर्थजीको पक्षमा निर्णय भएछ । पार्टी हाइकमाण्डबाट प्रेस चौतारीका साथीहरूलाई पनि तीर्थकै पक्षमा खडा हुन निर्देशन गएछ । अनि चौतारीका साथीहरू पनि मनले नमानी–नमानी तीर्थजीलाई सभापतिको उम्मेदवार बनाउन बाध्य हुनुभएछ ।  भएको यो हो । यसरी अहिले राजनीतिक गठनबन्ध हैन, पेशागत हकहितका लागि उम्मेदवारी दिएको भनेर बताए पनि तीर्थजीले राजनीतिक गठबन्धनको साझा उम्मेदवार बन्न नसकेपछि सुमार्गीको भिटो प्रयोग गरी एमालेको उम्मेदवार बनेको स्पष्ट देखिन्छ ।  प्रेस सेन्टर र प्रेस यु्नियनका साझा उम्मेदबार गोविन्द आचार्यजीको कुरा बेग्लै छ । उहाँ आफै श्रमजिवी पत्रकार भएको र लामो समयदेखि श्रमजिवी पत्रकारहरूको हकहितका पक्षमा सँघर्ष गर्दै आएको व्यक्ति हुनुहुन्छ ।

करिब अढाई दशक पत्रकारितामा सक्रिय रहने क्रममा गोविन्दजीले अर्को कुनै व्यवसाय गर्नुभएन । अग्रज पत्रकारहरू गोविन्द बियोगीको ‘मातृभूमि’बाट पत्रकारिता थाल्नुभएका गोविन्दजीले मदनमणि दीक्षितको ‘समीक्षा साप्ताहिक’मा पनि काम गर्नुभयो । महासंघका लागि अग्रजहरूले गरेको योगदानको उहाँमा सुरुदेखि नै प्रभाव परेको देखिन्छ । सोही कारण उहाँले पत्रकारहरूको हक हितका लागि समर्पित हुन कुनै कसर बाँकी राख्नुभएन ।  ‘जनादेश’ र ‘कृष्णसेन अनलाईन’मा कार्यरत रहनुभएका गोविन्दजी शान्ति प्रक्रिया सुरु भएपछि ‘जनदिशा दैनिक’मा सम्पादक हुनुहुन्थ्यो । म त्यो पत्रिकामा कपी एडिटर थिएँ । त्योबेला उहाँ ‘पत्रिकामा जनताका कुरा धेरै आओस्’ भन्नुहुन्थ्यो । उहाँ अहिले पनि जनपक्षीय पत्रकारिता र नयाँ सञ्चारको विकासमा कटिबद्ध हुनुहुन्छ । मलाई स्पष्ट सम्झना छ, जनदिशामा कार्यरत रहँदा ‘नेपाल वान टेलिभिजन’मा राजकुमार रेग्मी, मात्रिका पौडेल, मुकुन्द दाहाललगायतका दर्जनौँ साथीहरू सँघर्षरत हुनुहुन्थ्यो ।

आन्दोलनलाई निकास दिई पत्रकारहरूको पारीश्रमीक एकमुष्ट दिलाउनु जरुरी थियो । त्यस्तोमा गोविन्द आचार्यजीकै नेतृत्वमा अलग्गै संघर्ष समिति बन्यो । संघर्ष समितिले दबाबमुलक आन्दोलन ग¥यो । अन्ततः नेपाल वानका सञ्चालक र पत्रकारहरूबीच सहमति भयो र सञ्चालकहरू पत्रकारलाई एकमुष्ट तलब दिन बाध्य भए । हामी सबैलाई थाहै छ, कान्तिपुर, राजधानी, सगरमाथा टेलिभिजन, उज्यालो नेटवर्क आदिमा पत्रकारहरूले संघर्ष गर्दा पत्रकारको हकहितका पक्षमा  गोविन्दजीले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो ।  पार्टीगत आस्थाको कुरा गर्दा निश्चय नै उहाँ माओवादीनिकट हुनुहुन्छ । तर, माओवादीको कुनै पनि निकायमा उहाँ सक्रिय हुनुभएन । क्रान्तिकारी पत्रकार संघको केन्द्रिय समितिमा हुनुभएकाले माओवादीको हेटौँडा महाधिवेशनका बेला उहाँलाई महाधिवेशन आयोजक समितिमा स्वतः सदस्य बनाइयो ।

तर, उहाँले पार्टीलाई धन्यवाद दिँदै र ‘पार्टीप्रति आस्था र विश्वास कायम रहनेछ’ भन्दै त्यो समितिबाट राजीनामा दिनुभएको समाचार त्यसबेलाका पत्र–पत्रिकामा छापिएकै हुन् ।  नेपाल पत्रकार महासंघमा उहाँको आवद्धता पुरानै हो । उहाँ यसअघि नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कोषाध्यक्ष तथा महासंघको केन्द्रिय उपाध्यक्ष भइसक्नुभएको छ । उपाध्यक्षपछि भइसकेको व्यक्तिले अब हुने भनेको अध्यक्ष नै हो । यस हिसाबले सभापतिमा उहाँको उम्मेदवारी स्वाभाविक र न्यायोचित देखिन्छ । गोविन्दजी, नयाँ सञ्चारको विकास गर्न सक्ने, पत्रकारहरूका पीरमर्का बुझ्नसक्ने, परेमा डटेर संघर्ष गर्नसक्ने र मोफसलका पत्रकारहरूको दुःख बुझ्ने योग्य उम्मेदवार हुनुहुन्छ ।  तीर्थ कोइरालाजीको भूमिकाका सम्बन्धमा चाहिँ कैयन सञ्चारकर्मीले गुनासो गरेको पनि सुनिन्छ । पत्रकारहरूको हकहितका पक्षमा डटेर लड्ने भन्दा पनि सम्झौतावादी ‘गुण’ उहाँमा देखिन्छ ।

खासगरी सञ्चालक र प्रकाशकलाई रिझाउन सके मिडियामा टिक्न सकिन्छ भन्ने व्यवहार उहाँको रहँदै आएको उदाहरण प्रस्तु गर्नुपर्दा, उहाँ प्रधानसम्पादक रहेको ‘थाहा खबर’का रिपोर्टरले नियुक्ति पत्र पाउँ भन्दा अहिलेसम्म पाउन सकेका छैनन् । उहाँ कान्तिपुर मिडियामा कार्यरत रहँदा त्यहाँका पत्रकारले संघर्ष गर्दा पनि केही नबोलेको कसैबाट छिपेको छैन । पत्रकारको हितमा खासै बोल्न नसक्ने तीर्थजीले साना मिडियालाई लोक कल्याणकारी विज्ञापन दिनुहुन्न भन्नेसोच राख्दै आउनुभएको पङ्क्तिकारको ठहर छ । कहाँसम्म भने उहाँले यदाकदा ‘श्रमजिवी पत्रकार ऐन लागू गर्नु हुँदैन, पत्रकारको क्षमता भयो भने एक लाख रुपैयाँ पनि कमाउँछन्’ भनेर चिया गफहरूमा भनेको यिनै कानले धेरैपटक सुनेकै हो ।  तुलनात्मक अध्ययन गर्दा पङ्क्तिकार चाहिँ गोविन्दजीकै पक्षमा उभिएको छ र उभिन उचित ठान्दछ । देशभरका पत्रकार साथीहरू, बायस नभईकन सोचौँ, पत्रकार महासंघमा एमालेनिकट अध्यक्ष त हामीले पटक–पटक हेरेकै हौँ, यसपटक श्रमजिवी पत्रकारनिकट पत्रकारलाई सभापति बनाएर हेरौँ न त ? (लेखकको निजी धारणा)

प्रकाशित मिति: Aug 16, 2017

प्रतिक्रिया दिनुहोस्