Logo
१० मंसिर २०८१, सोमबार
(August 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वाधार-विकासमा लगानी होस् : प्रचण्ड, सबै नाका खोलौँ : ओली

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल र चीनबीच समस्यारहित मित्रता रहेको उल्लेख गर्दै चीनले नेपालको स्थिरता चाहेको सन्देश पठाएका छन् । मंगलबार एमाले र माओवादी केन्द्रको प्रतिनिधिमण्डलले चिनियाँ उपप्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डलसँग होटेल सोल्टीमा बेग्लाबेग्लै भेटवार्ता गरेको थियो । एमाले अध्यक्ष ओली र उपप्रधानमन्त्री वाङबीच एक्लाएक्लै पनि छलफल भएको थियो ।

नेपाल भ्रमणमा रहेका उपप्रधानमन्त्री वाङ याङले मंगलबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपतिको यो सन्देश सुनाएका छन् । राष्ट्रपति सीले दुई देशबीच शीर्ष तहमा भ्रमण आदानप्रदान हुने र यसले सम्बन्ध थप सुदृढ हुनेसमेत सन्देश पठाएका छन् ।

एमाले र माओवादी शीर्ष नेतासँग चिनियाँ उपप्रधानमन्त्रीले भारत र चीनबीचको सीमा विवादबारे केही नबोलेको भेटमा सहभागी नेताहरूले बताए । ‘नेपाल र चीनबीच समस्यारहित मित्रता छ, नेपाल स्थिर रहोस् भन्ने चीन चाहन्छ भन्ने राष्ट्रपतिको सन्देश उपप्रधानमन्त्री वाङले सुनाउनुभयो,’ भेटवार्तामा सहभागी एमाले नेता विष्णु रिमालले भने । उपप्रधानमन्त्री वाङले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

सबै नाका खोलौँ : ओली
एमाले अध्यक्ष ओलीले मुस्ताङको कोरालालगायत चीन र नेपालको सीमानाका सहज रूपमा सञ्चालन गर्न आग्रह गरेका थिए । केही दिनअघि ओली कोराला नाका पुगेर फर्केका थिए । ‘कोराला, लुम्बिनीदेखि पटनासम्मको बाटो खुला गरौँ, यो चीनको प्राचीन रेसममार्ग पनि हो भन्नेमा अध्यक्षले जोड दिनुभयो,’ रिमालले भने, ‘उहाँहरूले यसमा सकारात्मक छौँ भन्नुभएको छ ।’ ओलीले कोराला, तातोपानीसहित नाका सञ्चालनमा जोड दिएका थिए ।

एमाले नेताहरूले सरकार फेरिए पनि चीनसँगको सम्बन्धमा कुनै फेरबदल नआउने बताएका थिए । उनीहरूले नेपालमा जुनसुकै सरकार पनि एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र पञ्चशीलका आधारमा चीनसँगको सम्बन्ध निर्देशित रहेको बताएका थिए । भेटवार्तामा एमाले नेताहरू ईश्वर पोखरेल, सुभाषचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु रिमाल, राजन भट्टराईलगायत थिए ।

पूर्वाधार र विकासमा लगानी होस् : प्रचण्ड
चिनियाँ उपप्रधानमन्त्रीसँगको भेटवार्तामा माओवादी अध्यक्ष प्रचण्डले पूर्वाधार र विकास निर्माणमा नेपालले चीनको सहयोग चाहेको बताएका थिए । प्रचण्डले एक चरणको स्थानीय निर्वाचन र प्रान्तीय तथा केन्द्रीय संसद्को निर्वाचनपछि नेपाल विकासको गतिमा अघि बढ्ने बताएका थिए ।

‘अध्यक्षले नेपाल र चीनबीच रेलमार्ग निर्माणमा अध्यक्षले जोड दिनुभयो र नेपालको पूर्वाधार विकास, जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा लगानी गर्न आग्रह पनि गर्नुभयो,’ भेटपछि माओवादी प्रवक्ता पम्फा भुसालले भनिन् । उनका अनुसार चिनियाँ नेता वाङले प्रधानमन्त्रीका रूपमा यसअघि प्रचण्डको चीन भ्रमणका क्रममा पाएको निमन्त्रणामा आफू अहिले नेपाल आएको बताएका थिए ।

‘चिनियाँ उपप्रधानमन्त्रीले वान बेल्ट वान रोडसम्बन्धी सम्झौतामा हाम्रो अध्यक्ष नेतृत्वको सरकारले हस्ताक्षर गरेकोमा प्रशंसा गर्नुभयो,’ भुसालले भनिन् । प्रचण्डले राजनीतिक परिवर्तन संस्थागत गर्न निर्वाचन भइरहेको भन्दै यसका लागि चीन र भारतजस्ता छिमेकीको सद्भाव नेपालले अपेक्षा गरेको पनि उल्लेख गरेका थिए ।

प्रचण्डले चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिनेसमेत वचन दिएका थिए । चीन र नेपालबीच वान बेल्ट वान रोड (ओबिओआर) मा भएको हस्ताक्षर महत्वपूर्ण रहेको प्रचण्डको भनाइ थियो । उनले माओवादीले चीन र भारत दुवै छिमेकीसँग सन्तुलित र समदूरीको सम्बन्ध राख्न चाहेको बताएका थिए ।

भेटमा माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, देव गुरुङ, टोपबहादुर रायमाझी, मातृका यादव, अग्निप्रसाद सापकोटा, शक्तिबहादुर बस्नेत, पम्फा भुसाल, मणि थापा सहभागी थिए । भेटमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा पनि सहभागी थिए । नयाापत्रिकामा समाचार छ । 

प्रकाशित मिति: Aug 15, 2017

प्रतिक्रिया दिनुहोस्