Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परिणामलाई सहज रुपमा लिऔं र प्रदेश र केन्द्रको चुनाव एकैचोटी गरौं

पोखरा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिकामा आफ्नी छोरी रेणु दाहालले जित्ने गरी आएको निर्वाचन परिणामलाई सहज रुपमा लिन आग्रह गरेका छन् । उनले भने, ‘केपी ओलीजीले नै सहज रुपमा लिन सबैलाई आग्रह गर्नुभएको सुनें, खुसी लाग्यो, म उहाँलाई धन्यवाद दिन्छु ।’ प्रेस सेन्टर प्रदेश न ४ ले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनलाई आइतबार सम्बोधन गर्दै थिए ।

भरतपुरको निर्वाचनबारे आएका टिकाटिप्पणीप्रति संकेत गर्दै दाहालले भने, ‘को कोले के के भने त्यतातिर नजाऊँ ।’ संविधान कार्यान्वयनको क्रममा स्थानीय तह निर्वाचन ६ वटा प्रदेशमा सफल हुनुलाई उनले महत्वपूर्ण बताए । अब प्रदेश र संघको चुनाव मंसिर पहिलो साताभित्रै गर्ने गरी लाग्नुपर्नेमा उनले जोड दिए । ‘चुनावी प्रक्रिया महँगो हुन थालेको हुँदा दुवै चुनाव एकैचोटि गर्ने र संविधान कार्यान्वयन गरेर आर्थिक समृद्धि अनि सामाजिक न्यायको बाटोमा जानुपर्छ,’ उनले भने ।

केपी ओली नरम हुँदा आफू पनि उनीप्रति नरम र गरम हुँदा गरम हुने गरेको दाहालले सुनाए । ‘उहाँले प्रधानमन्त्री छोड्नुपर्दा पनि मैले उत्तिकै सहज रुपमा व्यवहार गर्ने प्रयास गरेको थिएँ,’ दाहालले सुनाए, ‘अहिले उहाँ नरम हुँदा म पनि नरम भएको छु ।’ दाहालले राजनीतिक आदर्श मिल्ने दलहरुबीचमात्रै गठबन्धन गरिनुपर्ने पनि बताए ।

उनले भने, ‘कम्तीमा संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक समावेशीको मुद्दा मिल्नेसँग सहकार्य गर्नुपर्छ भन्नेमा हाम्रो पार्टी छ ।’ शनिबार पोखरा आएर यहाँको रुपाकोट रिसोर्टमा परिवारका सदस्यहरुसँग बसेका दाहाल आइतबार पार्टीको प्रदेश नम्बर ४ का केन्द्रीय सदस्यहरुको बैठकमा सहभागी भएका छन् । उक्त बैठकले यो प्रदेशका केन्द्रीय सदस्यहरुको संख्या घटाउँदैछ ।

प्रकाशित मिति: Aug 6, 2017

प्रतिक्रिया दिनुहोस्