Logo
११ पुस २०८१, बिहीबार
(July 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘उत्तरी सबै नाका जोड्ने सडक बनाउन चीन तयार’

काठमाडौं : चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ । साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा त्यस्तो प्रस्ताव आएको जानकारी गराएका हुन् । ओलीले आइतबार पार्टीको स्थायी समिति बैठकमा भने, ‘चिनियाँ नेताले दुई देशको उत्तरतर्फका सीमानाका खोल्न र नेपालतर्फको सडक निर्माणमा पनि तयार रहेको बताएका छन् ।

चीनसँग नेपाललार्इ जोड्ने रसुवागढी नाका । फाइल फोटो

यसका लागि नेपाल सरकारले आधिकारिक रूपमा पत्राचार गर्नुपर्ने प्रस्ताव उनीहरूको छ ।’
चिनियाँ पक्षले रसुवाको रसुवागढी, ताप्लेजुङको ओलाचुङ्गोला, संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी, दोलखाको लामाबगर, हुम्लाको यारी, गोरखाको लार्के, मुस्ताङको कोरला, मुगुको हिल्सा नाका खोल्न ओलीसमक्ष प्रस्ताव राखेका छन् । ती नाका खोल्न नेपालतर्फको सडक निर्माणमा तयार रहेको जानकारी चिनियाँ पक्षले दिएको ओलीले स्थायी समितिमा बताएका थिए । चिनियाँ पक्षले तातोपानीको भूकम्पले चर्काएका पहाडको भौगोलिक र भूगर्भिक सर्वेक्षण गरिरहेको र चाँडोभन्दा चाँडो नाका सञ्चालनको पहल गर्ने जानकारी दिएको ओलीले बताए ।

द्विपक्षीय हित र सरोकारकेन्द्रित भेटवार्तामा तिब्बती पक्षले सकारात्मक र उत्साहपूर्ण प्रतिक्रिया दिएको ओलीको भनाइ थियो । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका प्रतिनिधि र तिब्बत कम्युनिस्ट पार्टीका उच्च अधिकारीले आफूलाई वर्तमान प्रधानमन्त्रीसरहको सम्मान गर्दै नेपालको आर्थिक विकासका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता पाएको जानकारी ओलीले दिए । साउन २२ गते ल्हासा प्रस्थान गरेका ओलीलाई त्यहाँको सरकारले राजकीय सम्मान दिँदै भोलिपल्ट सिगात्से लगेको थियो । त्यस अवसरमा ओलीको सिगात्से, केरुङ, रसुवागढी, काठमाडौं हुँदै लुम्बिनीसम्म रेल्वे जोड्ने योजना सफल गराउने दृढतालाई अझै बल पुर्‍याउने गरी वार्ता भएको ओलीले जानकारी दिए ।

ओलीलाई चिनियाँ पक्षले उनी प्रधानमन्त्री हुँदा भएका १० वटा सम्झौता र १५ बुँदे संयुक्त वक्तव्यलाई अगाडि बढाउने कार्य अघि नबढेकोमा गुनासो गरेको थियो । एमाले सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठले चिनियाँ पक्षले ती सहमति र सम्झौता कार्यान्वयनबाट बढीभन्दा बढी लाभ लिन आग्रह गरेको जानकारी ओलीले दिएको बताए । उनले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘रेल्वे मार्ग, सडक निर्माणमा ठूलो चासो दिनुभयो । त्यसबाट चीनलाई भन्दा नेपाललाई नै बढी लाभ हुन्छ ।

नेपाल सरकारले यस्ता कुरामा चासो दिनुपर्‍यो ।’ आफूले चिनियाँ पक्षलाई यसबारे अघि बढ्न सरकारलाई घच्घच्याउने बचन दिएको ओलीले बताए । ओलीले ल्हासाबाट काठमाडौं फर्किने बेला तातोपानी-कोदारी नाकाको समस्या राख्दै त्यसलाई चाँडोभन्दा चाँडो खोल्न चिनियाँ पक्षसँग प्रस्ताव गरेका थिए । ओलीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘चीनले यसका लागि पनि नेपाल सरकारले माग गर्नुपर्ने धारणा राख्यो ।’ #चिरञ्जीवी ढुंगानाको बाइलाइनमा अन्नपुर्ण पोष्टमा समाचार छ ।

प्रकाशित मिति: Jul 31, 2017

प्रतिक्रिया दिनुहोस्