Logo
६ मंसिर २०८१, बिहीबार
(July 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुवै निर्वाचन सँगै गर्न प्रधानमन्त्री देउवाको प्रस्ताव

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकैपटक गर्न निर्वाचन आयोगसँग प्रस्ताव गरेका छन् । आगामी माघ ७ गतेभित्र दुवै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण समय कम रहेको तथा खर्च पनि घट्ने भन्दै प्रधानमन्त्री देउवाले एकैपटक दुवै निर्वाचन गर्ने विषयमा आयोगसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा आयोगका पदाधिकारीले भने दुई निर्वाचन एकैपटक गर्नका लागि व्यवस्थापकीय र कानुनी जटिलता भए पनि सरकार र दलहरूबीच सहमति जुटे आयोग तयार रहेको बताएका थिए । ‘प्रधानमन्त्रीज्यूले एकैपटक निर्वाचन गर्न सकिन्छ कि भनेर आयोगसँग परामर्श गर्नुभयो’, निर्वाचन आयुक्त ईश्वरी पौडेलले अन्नपूर्णसँग भने, ‘आयोगले व्यवस्थापकीय र कानुनी जटिलताबारे कुरा राखेको छ ।’

आयोगले दुई निर्वाचन एकैचोटि गर्ने भए प्रतिनिधिसभा र प्रदेशसभाका लागि एउटै मतपत्र हुनुपर्ने, प्रत्यक्ष निर्वाचितले जति मत प्राप्त गर्छ त्यसलाई नै दलको समानुपातिक मत मानेर अघि बढ्नुपर्ने सर्त प्रधानमन्त्रीसँग राखेको थियो । ‘राजनीतिक दल र सरकार स्पष्ट रूपमा एकै चरणमा निर्वाचन गर्न तयार रहे आयोग सकारात्मक छ भनेर हामीले जवाफ दिएका छौं’, आयुक्त पौडेलले भने ।

प्रधानमन्त्रीसँग प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनका लागि समय कम रहेको स्पष्ट पार्दै चाँडै मिति घोषणा गर्न ध्यानाकर्षण गराएका थिए । ‘दलहरूसँग कुरा गरेर मिति घोषणा हुन्छ’, प्रधानमन्त्रीले भनेका थिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकैचोटि गर्ने भए एउटै मतपत्र हुनुपर्ने आयोगको सर्त ।

आयोग पदाधिकारीले निर्वाचन गर्न संसद्मा रहेका निर्वाचनसम्बन्धी विधेयकहरू छिटो पारित गरी राजनीतिक वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । सरकार माघ ७ भित्रै दुवै निर्वाचन गर्न प्रतिबद्ध रहेको देउवाले बताएका थिए । क्षेत्र निर्धारण आयोगले काम थालिसकेको तथा निर्वाचनसम्बन्धी दुईवटा कानुन पनि केही दिनभित्रै पास हुनेमा प्रधानमन्त्रीले आश्वस्त पारेको आयोगका कामु सचिव महेश्वर न्यौपानेले बताए ।

प्रकाशित मिति: Jul 28, 2017

प्रतिक्रिया दिनुहोस्