Logo
९ मंसिर २०८१, आईतबार
(July 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हृदयेश त्रिपाठीको जीवन: अंशबण्डा भयो, मनबण्डा भएन

हृदयेश त्रिपाठी घरमा थिएनन्, पार्टी कार्यालयमा थिए । घरमा उनकी श्रीमती, छोरा र सहयोगी थिइन् । आफूलाई बिजुलीको मिटर हेर्न आएको बताउने ६ जनाको टोलीले त्रिपाठीको घरमा आक्रमण गर्यो । उनको श्रीमतीमाथि खुकुरी प्रहार भयो । खुकुरी रोक्नखोज्दा श्रीमतीको हातै काटियो । ‘यो घटना म कहिल्यै भुल्न सक्दिनँ,’ निकै भावुक मुद्रामा त्रिपाठी सुनिए, ‘२०५८ सालतिर धुम्बाराही (काठमाडौं) मा बस्दा घटेको घटना हो । म राजनीतिमा लागेपछि परिवारमाथि नै आक्रमण भएको यो पहिलो घटना थियो ।’

असारको तेस्रो साता ललितपुर भैँसेपाटीस्थित त्रिपाठीको घरमा पुगेर हामी उनलाई राजनीतिमा लागेर परिवारले चुकाउनुपरेका मूल्यबारे सोधिरहेका थियौँ । छेउमै उनकी श्रीमती शोभा कँडेल यो घटना बताउँदा गम्भीर देखिन्थिन् । ‘यस घटनापछि हामी त्यहाँ बस्न सकेनौँ र यता नयाँ घरमा सर्यौँ,’ उनले भने । त्यतिबेला त्रिपाठीको घरमा आक्रमण हुँदा माओवादी आन्दोलन उत्कर्षमा थियो । धेरैले माओवादीले गरेको ठाने तर माओवादी तत्काल त्यसको खण्डन ग¥यो । ‘यति भन्न सक्छु त्यो माओवादीको आक्रमण थिएन,’ त्रिपाठीले भने, ‘त्यो तत्कालीन सरकारमा रहेकाकै षडयन्त्र थियो । सार्वजनिक लेखा समितिसँग जोडिएका डकुमेन्ट मेरो कब्जामा छ कि भन्ने अनुमानका आधारमा मान्छे पठाइएको रहेछ । म घर पुग्दा डकुमेन्टहरु  छरपस्ट थिए ।’

०००
राजनीतिमा लागेपछि त्रिपाठीले यस्ता आक्रमण धेरै भोगेका छन् । भन्छन्, ‘कहिले गाडीको हावा फुस्काइयो, कहिले घरमै आक्रमण गरियो । ऋतिक रोशन काण्ड हुँदा पनि गाह्रो भएको थियो तर राजनीतिमा लागेपछि यस्ता घटना सामान्य हुन् भन्ने लाग्छ । देशको हितमा सोच्ने मान्छेले यी सब कुरा सामना गर्न तयार भएरै राजनीतिमा आउनुपर्छ,’ त्रिपाठीले भने ।
यस्ता घटनापछि राजनीति छोड्न परिवारको दबाब आयो होला नि ? प्रश्न नेता त्रिपाठीलाई सोधिएको थियो, जवाफ पत्नीले दिइन्, ‘अहँ । हामीले छोड्न दबाब दिएनौँ, उल्टै तगडा हुनलाई प्रेरित ग¥यो । खासमा म पहिलेदेखि उहाँको राजनीतिक उद्देश्यप्रति सकारात्मक थिएँ । मलाई पहिलेदेखि नै जो मान्छेले अरुका लागि केही गर्छु भन्छ, उसलाई साथ दिनुपर्छ भन्ने लाग्छ ।’

पारिवारिक पृष्ठभूमि
हृदयेश मधेस र मधेसी जनताको हकहितका लागि निरन्तर लागिरहेका नेताका रुपमा चिनिन्छन् । पञ्चायतताका उनी १३ वर्ष वामपन्थी आन्दोलनमा होमिए । बहुदलीय व्यवस्था आएपछि उनी गजेन्द्र नारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीमा आबद्ध भए । त्यसपछि उनी मधेसी नेताका रुपमा स्थापित भए । तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष रहेका उनी केही मधेसी पार्टीको एकीकरणसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा वरिष्ठ नेता चयन भएका छन् ।
त्रिपाठी परिवारमा यसअघि कोही पनि राजनीतिमा थिएन । उनको खास घर नवलपरासीको गुठी, पर्सौनीस्थित कठहवा गाउँमा छ । उनका हजुरबुबा विद्यानिवास त्रिपाठी इन्जिनियर थिए, हजुरआमा गृहिणी । उनका बुबा हरिशंकर त्रिपाठी कानुनका विद्यार्थी थिए र इतिहासमा स्नातक । आमा गृहिणी नै थिइन् । उनका एक जना दाइ छन्, दिनेश त्रिपाठी । उनले समाजशास्त्रमा स्नात्तकोत्तर गरे पनि गाउँमै खेतिपाती सम्हाल्छन् ।

परिवारमा नरुचाइएको राजनीति
हृदयेशको परिवारले राजनीतिलाई कसरी लिन्थ्यो ? ‘राजनीति मेरो परिवारमा रुचाइएको विषय थिएन,’ त्रिपाठीले भने, ‘हाम्रो परिवारको नजरमा यो बेराजगार र फटाहाहरुको पेसा थियो । बुबा पढेलेखेको हुनुहुन्थ्यो । यो काम नगर भनेर सधैँ सम्झाउनुहुन्थ्यो । जति सम्झाउँदा पनि नलागेपछि ‘राजनीति हाम्रो वंशलाई फाप्दैन’ पनि भन्नुभयो ।’
त्यसो भए उनी कसरी आइपुगे त ? ‘मान्छेको जिन्दगीलाई केही न केही घटनाक्रमले डोर्याइरहेको हुन्छ, मलाई पनि त्यस्तै भएको हो,’ हृदयेशले पुरानो घटना सुनाए, ‘म कक्षा ८ सम्म गाउँमै पढेँ । त्यतिबेला नवलपरासीमा एउटा मात्र हाइस्कुल थियो । छिमेकी अंकलको सल्लाहमा म पाल्पाको तानसेनमा गएर पढेँ । वि.सं. २०२९ सालमा त्यहीँबाट एसएलसी दिएँ । त्यसपछि साइन्स पढ्न काठमाडौं आए । अस्कल कलेजमा भर्ना भएँ । त्यतिबेलासम्म ममा राजनीति गर्ने सोच थिएन । म बढी हजुरबुबाबाट प्रभावित थिएँ र इन्जिनियर बन्ने लक्ष्य थियो । कलेज पढ्दा महँगी विरुद्धको आन्दोलनमा भाग लिएँ । फोकटिया पक्राउ परियो । यसरी नै राजनीतिक चेतना बढ्दै गएको हो ।’
त्यतिञ्जेलसम्म पनि उनी राजनीतिमा पूर्ण रुपमा सक्रिय भइसकेका थिएनन् । उनी त्यतिबेला तत्कालीन नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन (नेराविफे)मा कार्यरत थिए ।भन्छन्, ‘नजानिँदो किसिमले राजनीतिमा प्रवेश गरियो । पछि केही घटनाक्रमले सक्रिय बनायो ।’ के रहेछ त त्यो घटनाक्रम जसले तपाईंको जिन्दगीको उद्देश्य नै बदलिदियो ? ‘मैले दुई पल्ट इन्जिनियरिङ पढ्न स्कलरसिप पाएको थिएँ, एकपल्ट सोभियत रुस र अर्कोपल्ट श्रीलंका,’ उनले घटनाको बेलिबिस्तार लगाए, ‘तर दुइटै गुमाएँ । मलाई पासपोर्ट दिइएन । किन नदिएको भन्ने कारण नै बताइँदैनथ्यो तर पुलिस रिपोर्टमा थुनामा परेको केटा भन्ने परेपछि नदिइएको भन्ने बुझ्न गाह्रो थिएन । त्यसपछि मेरो मनमा प्रतिशोधको भावना आयो । यो त अति भयो, यति पनि गर्न नपाउने ? जनताले महँगीविरुद्ध आवाज पनि उठाउन नपाउने ? यस्तै–यस्तै घटना मेरो मनभित्र नमज्जाले गढ्यो र राजनीतिमा सक्रिय भइयो ।

बा–आमासरह काका–काकी
त्रिपाठीको बाआमा दुवै अहिले यो संसारमा छैनन् । उनी ७ कक्षा पढ्दा उनकी आमा बितिन् । २०६४ सालतिर जब उनी उद्योग वाणिज्य मन्त्री थिए, त्यतिबेला उनका बुबा पनि बते । ‘उहाँको काका–काकी दुवै हुनुहुन्छ, बा–आमासरह हेरविचार गर्नुहुन्छ,’ त्रिपाठीपत्नी शोभाले भनिन्, ‘एकदमै धेरै माया गर्नुहुन्छ । गाउँमा हाम्रो तीनटा घर छ । एउटा मूलघरमा काकाकाकी बस्नुहुन्छ । अर्को घर राजनीतिक भेटघाटका हिसाबले बनाइएको छ । अनि अर्कोमा भने उहाँको दाइ बस्नुहुन्छ । काकीले केही खानेकुरा बनाउनुभएको छ भने उहाँलाई नपठाई चित्त बुझ्दैन ।’ हाल काठमाडौँको घरमा भने हृदयेश, पत्नी शोभा, एक छोरा र एक छोरी बस्छन् । हृदयेशकी छोरी प्रियंकाको बिहे भइसक्यो । उनी एमडी डाक्टर पनि हुन् । कान्छी छोरी एमबी पढ्ने तयारीमा छिन् भने छोरा ब्याचलर पढ्न स्पेन जाने तयारीमा छन् । ‘अब दुवै पढ्न विदेश जाँदैछन्, घर शून्य हुँदैछ,’ निराश हुँदै शोभाले भनिन्, ‘उहाँ पनि आफ्नो काममा व्यस्त, अब घरमा म पो एक्लो हुने भएँ !’

अंशबण्डा भयो, मनवण्डा भएन
त्रिपाठीका दुई दाजुभाइ छन् । उनका बुबा पनि दुई दाजुभाइ हुन् । बुबाको पनि कागजी अंशबण्डा भएको थियो, उनीहरुको पनि कागजी रुपमा भइसक्यो । ‘तर मनबण्डा भएको छैन,’ त्रिपाठीले भने, ‘कागजी रुपमा मात्र भएको हो तर खेतिपाती एकैठाउँमा हुन्छ । कागजले हामीलाई अलग्याएको छैन ।’

दुई भाइ कि चार ?
एउटै बा–आमाको कोखबाट जन्मिएका हिसाबले त्रिपाठी दुई दाजुभाइ हुन् तर गाउँ आसपासमा कति दाजुभाइ भनेर सोधियो भने ‘दुई’ भन्न गाह्रो हुन्छ । कारण– कसैले पत्याउँदैनन् । ‘आमा बितेपछि सानैदेखि म काकीसँग बसे, मेरो जेठो दाइचाहिँ फुपुसँग बस्यो,’ त्रिपाठीले कारण खुलाए, ‘मेरो काकापट्टि तीन जना दाजुभाइ छन् । म उनीहरुसँगै हुर्किएँ । त्यसैले मलाई काकाको सन्तान ठान्दै चार दाजुभाइ भन्ने ठान्छन् । ठूलो दाइलाई बच्चामा कसैले देखेनन् । त्यसैले दुई जना भन्दा पत्याउँदैनन् ।’ काकापट्टिका तीन दाजुभाइमध्ये एक जना डाक्टर, एक जना इन्जिनियर र अर्का विद्यार्थी छन् । अवधेश तिवारी बुटवलमा डाक्टर, शैलेश तिवारी हाइड्रो कम्पनी जिएमआर लमजुङमा इन्जिनियर छन् भने ऋषिकेश तिवारी भारतको दिल्लीमा मेजर अंग्रेजीमा मास्टर डिग्री गरिरहेका छन् ।
मधेस–पहाड जोडेको जोडी
मधेस आन्दोलन चर्किरहेका बेला गाउँ–सहरमा मधेस–पहाड मिलनका कुरा धेरै सुनिए तर यी मधेसी नेताको घरमा मधेस–पहाड मिलन भएको ३२ वर्ष भइसक्यो । उनकी पत्नी कँडेल थरकी पहाडे हुन् भने उनी मधेसी । जातले दुवै ब्राह्मण भएकाले अन्तर्जातीय भन्न नमिल्ने दुवैको तर्क थियो । हृदयेशले २४ वर्षको उमेरमा बिहे गरेका हुन् । उनले प्रेम विवाह गरेका हुन् । ‘प्रेमपछि दुवै परिवारको समझदारीमा बिहे भएको हो,’ हृदयेशले भने, ‘म उनको आफन्तको घरमा एउटा कार्यक्रमको निम्तो लिएर पुगेको थिएँ । त्यतिबेलै मैले उनलाई देखेको थिएँ । त्यहीँ, त्यतिबेलै मलाई उनी मन परिन् ।’
शोभालाई देखेको ६ वर्षपछि मात्र उनीहरुको वास्तविक भेट भयो । किन र कसरी ? ‘उहाँ पढ्नलाई विदेश जानुभयो,’ शोभाले भनिन्, ‘अध्ययनपछि फर्केका बेला भेट भएको तीन महिनामै बिहे भयो । हृदयेशले शोभालाई मन पराएको थाहा पाएपछि राजनीति गर्नेलाई छोरी दिन बुबा राजी थिएनन् ।
सोभियत रुसमा गएर पोलिटिकल साइन्स, पोलिटिकल इकोनोमी र फिलोसोफीमा ग्रयाजुएसन गरेका हृदयेशमाथि भने शोभालाई विश्वास थियो ।
त्रिपाठीको घरमा बोलिने भाषा– भोजपुरी । शोभा भने भोजपुरी नबुझ्ने । ‘भाषा नजान्दा सुरुमा एकदमै गाह्रो हुन्थ्यो,’ उनले भनिन्, ‘तर परिवार एकदमै बुझ्ने भएकाले कुनै समस्या भएन । सबैले मलाई प्रेम गर्थे ।’ केहीले मधेसीसँग बिहे गरेकामा बाहिर जिस्क्याउने एकादुई भए पनि शोभालाई यो कहिल्यै समस्या लागेन । ‘दुई–जनाको मन मिलेपछि जात, समुदायको कुरा नै आउँदोरहेनछ,’ उनले भनिन्, ‘त्यसैले मलाई त्यसमा वास्ता पनि लागेन ।’

परिवार बलियो बनाउने अस्त्र ‘समय’
त्रिपाठीलाई लाग्छ– परिवारलाई सबैभन्दा बलियो बनाउने अस्त्र भनेकै समय हो । ‘समय दिनु एकदमै आवश्यक हुन्छ,’ उनले भने, ‘तर राजनीतिमा लागेपछि मैले दिन चाहेको तर नसकेको भनेकै समय हो । उनी त मेरो हरेक गतिविधिसँग अपडेट हुन्छिन् । उनले मलाई र मेरो कामलाई बुझेकी छन् तर छोराछोरीलाई समय दिन पाए हुन्थ्यो भन्ने लाग्छ ।’
त्यसो त बिहे भएको ३२ वर्ष भइसक्दा पनि उनी ससुरालीमा रात बिताउने गरी गएको दुई–तीन दिन मात्र हो । शोभा स्वयं पनि बिहेपछि माइतीघरमा रात बिताउने गरी जम्मा तीनपल्ट पुगिन् रे ! ‘दुईपल्ट बुबा बिरामी हुँदा गएकी थिएँ अनि एक रात भाइको बिहे हुँदा बसेँ,’ शोभाले भनिन्, ‘जहाँसम्म समयको कुरा छ । स्वास्नीमान्छेलाई समय नदिँदा होइन, अरु नै कुरामा चित्त दुख्ने हो । हामीलाई श्रीमान् अर्को केटीसँग हिँड्यो भने, भनेको कुरा सुनेर पनि नसुनेझैँ ग¥यो भने र शंका गर्ने बानी भयो भने मात्र चित्त दुख्ने हो । यी तीनटै कुरामा उहाँ गलत हुनुहुन्न ।’

शोभा माइतीघर त्यति नजानुको कहानी पनि बडो रोचक रहेछ । हृदयेशलाई हेर्दै उनले भनिन्, ‘यो आइमाई भन्ने जात यस्तो खराब हुँदोरहेछ कि श्रीमान् नआइञ्जेल खानै मन नलाग्ने । म त आफ्नो माइतीको संस्कारबाट प्रभावित थिएँ । उहाँले खाइसकेको थालीमा खाना खान्थेँ । बाहिर हुँदा पनि उहाँले खानु भए÷नभएको चिन्ता लाग्ने ।’
नेताको परिवार पनि अरुकोजस्तै रसिलो र सुखी हुन्छ ? हृदयेशले यो प्रश्नको जवाफमा भने, ‘हामी निरस छैनौँ, खुसी नै छौँ । यत्ति हो परिवारलाई चाहेजति समय दिन नसक्दा दुःखी छु ।’ हदृयेश आफूले जीवनमा कमाएको सबैभन्दा ठूला कुरा साथीसंगतलाई ठान्छन् । भन्छन्, ‘राजनीतिमा लागेपछि मैले एकदमै धेरै साथी कमाएँ । सायद म जति साथी अरु राजनीतिज्ञसँग नहोलान् । मैले जेलजीवन बिताएका बेला होस् या अरु बेला मेरो परिवारले एक्लो महसुस गर्नुपरेन । टेक केयर गर्ने, सोधपुछ गर्ने साथीहरु धेरै थिए । यस्ता कुराले मेरो आत्मबल सधैँ बढायो । यो अर्थमा म लक्की छु । ’

घरमा पनि राजनीति
हृदयेशको घरमा पारिवारिक जमघट कत्तिको हुन्छ ? ‘सबै आ–आफ्नो काममा व्यस्त हुन्छन्,’ हृदयेशले भने, ‘पूरै परिवार जम्मा हुने भनेको चाडपर्वका बेला हो । अझ होलीका बेला ठूलो जमघट हुन्छ ।’ यो त भयो ठूलो परिवारको कुरा । सधैँ भेटघाट भइरहने परिवारमा भने बढी गफगाफ के कुरामा हुन्छ ? ‘बाहिर दिनभर राजनीतिक भेटघाट हुन्छ, त्यसैले घरमा राजनीतिको कुरा नहोस् भन्ने चाहन्छु,’ हृदयेशले भने, ‘तर भइहाल्छ । 
आफ्ना सन्तानले जस्तो भविष्य रोजे पनि उनलाई स्वीकार्य छ तर उनलाई लाग्छ, छोराको राजनीतिप्रति राम्रो चासो र बुझाइ छ । उनी भन्छन्, ‘छोरो चाहिँ राजनीतिमा आउला कि !’ छोरा सामाजिक सञ्जालमा एकदमै अपडेट हुन्छ । त्यसैले बाबा अब के हुन्छ ? भनेर दिनहुँ चासो राखिरहेको हुन्छ । ठूली छोरी त्यस्तै चासो दिन्छे ।’

(अनिल यादवको बाइलाइनमा लेखिएको नागरिक परिवारबाट साभार)

प्रकाशित मिति: Jul 27, 2017

प्रतिक्रिया दिनुहोस्