राजधानी काठमाडौंमै बढ्यो सर्पदंशका बिरामी
काठमाडौं : वर्षायामसँगै राजधानीमा पनि विषालु सर्पको बिगबिगी हुन थालेपछि अस्पतालमा सर्पदंशका बिरामीको संख्यामा वृद्धि हुन थालेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १० देखि २५ जना सर्पदंशको उपचारमा आउने गरेका छन् । बिरामीमध्ये कम्तीमा पाँच जना त भर्ना नै गर्नुपर्ने अवस्थाका हुने अस्पतालका मेडिकल अफिसर डा. राकेश यादवले बताए । ‘कोही त बेहोस अवस्थामा आएका हुन्छन्,’ उनले भने, ‘कम्तीमा पाँच दिनदेखि १५ दिनसम्म भर्ना गरेर उपचार गर्नुपर्छ ।’
विशेषगरी उपत्यकाको थानकोट, टोखालगायत ग्रामीण ठाउँबाट सर्पदंशका बिरामी आउने गरेको डा. यादवले बताए । यसलगायत धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोकबाट आउनेहरूको उत्तिकै संख्या रहेको अस्पतालकी मेडिकल रेकर्ड अधिकृत सुधा ठाकुरले बताइन् ।भूकम्पले जमिन फाटेका ठाउँमा वर्षायामसँगै सर्पको बिगबिगी बढेको चिकित्सकको अनुमान छ । यो वर्षको पहिलो तीन महिनामा मात्र ८८ जना र श्रावणको ९ गतेसम्म २३ जनाले सर्पदंशको उपचार गराएको अस्पतालको तथ्यांक छ ।
वैशाखमा ५ जना मात्र उपचारका लागि अस्पताल पुगे पनि जेठमा २९, असार मसान्तसम्म ५५ सर्पदंशका बिरामीले उपचार गराएको अस्पतालको मेडिकल रेकर्ड शाखाको तथ्यांक छ । वर्षा भएका बेलामा खेतबारीमा काम गर्ने, झाडीतिर जाने र पानी जमेको खाल्डाखुल्डीतिर सर्पले टोक्ने जोखिम हुने डा. यादवले बताए । ‘सर्पले टोकिहालेमा कपडाले बाँध्नेजस्ता परम्परावादी उपचार गर्ने चलन अझै छ, त्यस्तो गर्नु हुँदैन, ‘डा. यादवले भने, ‘बरु साबुनपानीले सफासँग घाउ पखाल्ने र सक्दो चाँडो अस्पताल आइपुगेमा अवस्था धेरै बिग्रदैन ।’
अस्पतालमा आईसीयूको व्यवस्था नहुँदा सर्पले टोकेर गम्भीर अवस्था भएका बिरामीलाई उपचार गर्न समस्या भइरहेको डा. यादवले सुनाए । ‘विषालु सर्पले टोकेका बिरामीको ज्यानै जाने खतरा हुन्छ, त्यस्ता बिरामीलाई यहाँबाट उपचार हुँदैन, ‘उनले भने, ‘आईसीयू भएको अस्पतालमा रिफर गर्नुपर्छ ।’ सर्पले टोकेमा वाककाकी लाग्ने, घाउ, नाकमुख र दिसापिसावबाट रगत बग्ने, आँखा धमिलो हुने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखापर्ने अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुुनले बताए ।