नवनिर्वाचित भारतीय राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण
नवनिर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पदको शपथ लिनुएको छ । मङ्गलबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उहाँलाई भारतीय प्रधानन्यायाधीशले सपथ गराउनुभएको हो।
शपथग्रहण समारोहमा भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।
भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार रहनुभएका उहाँ ६५ प्रतिशत मत प्राप्त गरी हालैमात्र निर्वाचित हुनुभएको थियो । मंगलबार बिहान राष्ट्रपति कोविन्दले आफ्नी पत्नीसहित राजघाटस्थित महात्मा गान्धीको स्मारकमा पुगी उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।
७१ वर्षीय कोविन्दलाई विशेष सवारीका साथ राष्ट्रपति भवनमा प्रवेश गराइएको थियो ।
त्यस बखत त्यहाँ उपस्थित विशिष्ट व्यक्तिले उहाँलाई स्वागत गर्नुभएको थियो । भारतीय दलित समुदायको प्रतिनिधित्व गरेका राष्ट्रपति कोविन्दले शपथ ग्रहण पछि दिनुभएको मन्तव्यमा आफूले सधैं न्याय, समानता र प्रजातन्त्रको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सबै भारतीय नागरिक समग्र भारतको विकासका लागि उर्जाको स्रोत हुन् भन्नुभयो । राष्ट्रपतिको शपथका लागि भारतीय राष्ट्रपति भवन सजाएर निकै आकर्षक बनाइएको एजेन्सीहरुले जनाएका छन् ।