गोरखाल्याण्ड आन्दोलनको के छ अवस्था: अब के होला ?
असारको महिना । कञ्चनजङ्घा पर्वतमा साबिककै रुपमा सूर्योदय भइरहेको छ तर त्यसलाई क्यामरामा कैद गर्ने मानिसको कमी छ ।
पूरा उत्तर भारत प्रचण्ड गर्मीको सास्तीमा छ । यता दार्जिलिङका मानिस भने स्वेटर–ज्याकेट लगाइरहेका छन् । यो मौसममा धेरैजसो भारतीय आरामको खोजीमा दार्जिलिङको यात्रामा निस्कने गर्दछन् । उत्तर बंगालको यो पहाडी इलाकाको अर्थव्यवस्थाको मुख्य आधार नै यही हो ।
व्यापारको ‘सिजन’ मा पनि यहाँका मानिसहरु आ–आफ्नो पसल बन्द गरेर बसेका छन् ।
उनीहरु सडकमा छन् । आन्दोलन गरिरहेका छन् र ‘वी वान्ट गोरखाल्याण्ड’, ‘हाम्रो माग गोरखाल्याण्ड’ भन्दै नाराबाजी गरिरहेका छन् ।
आन्दोलन हिंसात्मक बनेको छ जसमा केही मानिसहरुले ज्यान गुमाएका छन् भने थुप्रै घाइते भएका छन् । पुलिसले केहीलाई पक्राउ पनि गरेको छ ।
तरपनि मानिसहरु रोकिएका छैनन् । उनीहरुको आन्दोलन दिन प्रतिदिन उग्र भइरहेको छ । उनीहरुले काम गरिरहेका छैनन् । पैसा पनि कमाएका छैनन् तरपनि उनीहरुलाई कुनै चिन्ता छैन । आन्दोलनमा निरन्तर होमिएका छन् ।
किन उनीहरुलाई डर लाग्दैनः
चर्चित स्तम्भकार र गोरखा जनमुक्ति मोर्चाका सल्लाहकार स्वराज थापाको अनुसार यो इज्जतको लडाईं हो, पहिचान बचाउने संघर्ष हो । त्यसकारण मानिसहरु पेटको चिन्ता नगरी आन्दोलनमा होमिएका छन् ।
स्वराज थापाले बीबीसीसँग भने, ‘यो कुनै एक पार्टी वा नेताको लडाईं होइन । यो दार्जिलिङ, कालिम्पोंग र कर्सियांग इलाकामा बस्ने लाखौं मानिसहरुको लडाईं हो । हामी आफ्नो अस्तित्वको रक्षाका लागि गोरखाल्याण्ड चाहन्छौं ।’
उनी भन्छन्, ‘हाम्रो माग सय वर्षभन्दा पनि पुरानो हो । तर यसपटक पहाडका मानिसहरु अन्तिम लडाईं लडिरहेका छन् । यो लडाईं गोरखाल्याण्ड नलिइकन समाप्त हुनेवाला छैन ।’
चोक बजारमा नाराः
‘वी वान्ट गोरखाल्याण्ड – गोरखाल्याण्ड गोरखाल्याण्ड । गोरखाल्याण्ड चाहिन्छ– चाहिन्छ चाहिन्छ । हाम्रो माग गोरखाल्याण्ड ।’
नेपाली र अंग्रेजीमा लगाइएका नाराबाजी चोक बजारमा घन्किरहेका छन् ।
नाराबाजी गरिरहेका एस के दर्नालले भने, ‘यो लडाईं लेप्चा, भूटिया वा गोरखाको होइन । लडाईं पूरा पहाडको हो । हाम्रो अधिकारको हो । यसमाथि बंगालको सरकारले कब्जा जमाएको छ ।’
उनी भन्छन्, ‘हामी सिमानाको रक्षा गर्दछौं र सरकार यहाँ पुलिस पठाएर गुण्डागर्दी गरिरहेको छ । यसलाई सहन सकिन्नँ । तपाईं हामीलाई गोरखाल्याण्ड दिलाउन सहयोग गर्नुहोस् ।’
के हो यो संकटको कारणः
अहिलेको संकटको मूल कारण पश्चिम बंगाल सरकारको त्यो घोषणा हो जसमा ९ कक्षासम्मका विद्यार्थीका लागि बांग्ला भाषाको पढाई अनिवार्य गरिएको छ ।
यसबाट रिसाएका मानिसहरुले गत जून ८ तारिखमा क्याबिनेटको मिटिङ गर्न आएकी मुख्यमन्त्री ममता बेनर्जीलाई कालो झण्डा देखाएका थिए ।
विरोध गरिरहेकाहरुले राजभवनमा छिर्ने कोसिस गरे । उनीहरुलाई रोक्नका लागि पुलिसले लाठीचार्ज गर्यो र अश्रुग्याँस प्रहार गर्यो । उक्त घटनामा धेरैलाई चोट लाग्यो ।
बन्दको अपिलः
त्यसपछि गोरखा जनमुक्ति मोर्चा (जिजेएम) ले जून १२ तारिखदेखि पहाडमाथि अनिश्चितकालीन बन्दको घोषणा गरे ।
मानिसहरुलाई सरकारी अफिसमा नजान र यसलाई बन्द गराएर सरकारको विरोध गर्न अपिल गरियो ।
तब मुख्यमन्त्री ममताले कार्यालयमा अनुपस्थित हुनेहरुको तलब काट्ने आदेश जारी गरिन् ।
त्यति बेलासम्म परिस्थिती त्यति बिग्रिएको थिएन । तर जून १५ तारिखमा जीजेएम प्रमुख विमल गुरुङको अफिसमा पुलिसको छापामारीपछि स्थिती तनावग्रस्त रह्यो ।
जीजेएमले जून १५ तारिखदेखि बन्दको घोषणा गर्यो । यसले निकै ठूलो असर पुर्याएको छ ।
अब के होला ?
गोरखा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीले आफूहरु केन्द्र सरकारसँग कुराकानी गर्न चाहेको बताए ।
उनी भन्छन्, ‘मैले गृहमन्त्री राजनाथ सिंहलाई भेटेर यसको अपिल पनि गरेको छु । अब सरकारले कहिले छलफलको बाटो फुकाउनेछ त्यो भने हेर्न बाँकी छ ।