हिजो मात्र सारिएका असार ९ गतेको चुनाव फेरी सर्दे !
काठमाडौ, जेठ १६: हिजोमात्र सारिएको असार ९ गतेका लागि सारिएको दोस्रो चरणको निार्वचन मिति फेरी सर्ने देखिएको छ । प्रधानमन्त्री प्रचण्डले मुस्लिम समुदायको मुख्य पर्व रमजानलाई मध्यनजर गर्दै असार ९ को मितिमा पुनरावलोकन गर्ने संकेत दिएका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मुस्लिम प्रतिनिधिहरुले असार ९ गतेका दिन मुस्लिम समुदायको मूख्य पर्व रमझान चाड पर्ने भएकाले निर्वाचन मितिमा पूनर्विचार गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै मागप्रति सकारात्मक रहेको प्रतिकृया दिएका छन् । मुस्लिम समुदायको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘आज तपाईंहरुलाई मैले नै यहाँ बोलाएको हुँ ।
भेटमा प्रधानमन्त्री प्रचण्डले ‘असारमा चुनावको मिति तोकिएको छ, मनसुनका कारण चुनाव प्रभावित होला कि भन्ने चिन्ता पनि छ । हामीले जुनकुनै हालतमा चुनाव गर्नुपर्छ । निर्वाचनले मात्रै राजनीतिक संक्रमणको अन्त्य गरी देशलाई राजनीतिक स्थिरता र विकासतिर लैजानेछ । तसर्थ, निर्वाचन गर्नैपर्छ । तर, रमजान पर्व प्रभावित नहुने व्यवस्था गर्न हामीले आवश्यक निर्णय गर्नेछौं ।’
हिजो मात्रै हामीले क्याबिनेटबाट चुनावको मिति सार्ने निर्णय गरेका थियौं । तर, असार ९ गते रमझान चाड पर्छ भन्ने कसैलाई पनि हेक्का रहेनछ । सरकार तपाईहरुको मागप्रति सकारात्मक छ, निर्वाचन आयोग र दलहरुसँग छलफल गरेर तपाईहरुको माग सम्बोधन गर्छाैं ।’ निर्वाचन नभए संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता उपलब्धिहरुलाई संस्थागत गर्न कठिन हुने बताउँदै प्रधानमन्त्रीले निर्वाचनको बिकल्प निर्वाचन मात्रै भएकोमा जोड दिएका थिए ।