खेलाडी फूटवल रोनाल्डो फेरि विवादमा
म्याड्रिड, एजेन्सी । रियल म्याड्रिडका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो ट्राफिक नियम तोडेको आरोपमा फेरि एक पल्ट विवादमा परेका छन् । गत बिहीबार आफ्नो घरेलु मैदान सेन्टियागो बेर्नाबेउ रंगशालामा लास पाल्मसविरूद्ध ३–३ को बराबरी खेल खेलेर फर्किने क्रममा उनले ट्राफिक नियम तोडेका थिए ।
यो खेलमा रोनाल्डोले दुई गोल गरेपछि पराजयन्मुख म्याड्रिड जोगिएको थियो । खेल सकिएपछि घर फर्किने क्रममा रंगशालाबाट बाहिरिएका रोनाल्डोले ट्राफिक नियम तोडेका थिए। उनले रंगशालाभन्दा अगाडिको चोकमा रातो बत्ति बलिरहेको बेला आफ्नो कारलाई बाहिर निकालेका थिए ।
रातो बत्ति बलेको कारण उनको कारभन्दा अगाडि एउटा ट्याक्सी रोकिएको थियो । तर, रोनाल्डोले आफ्नो अडी कारलाई हल्का टर्न गर्दै बाहिर निकालेका थिए। उनले ट्राफिक नियम तोड्दा बाटोको दुवै छेउमा प्रहरीहरू तैनाथ थिए। तर, उनीहरूले ट्राफिक नियम तोड्दा समेत रोनाल्डोको गाडी रोकेनन्।