Logo
१० माघ २०८१, बिहीबार
(October 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लक्ष्मणलाल कर्ण भन्छन ‘चार पार्टीका नेता आँफै बोक्सी, आँफै धामी’

laxman-lal-karna-1024x585

काठमाडौं । मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले ठूला पार्टीले नै लोकमानलाई अख्तियार प्रमुख बनाएको र अहिले आएर उनीहरुले नै हटाउन नाटक गरेको भन्दै ठूला पार्टीको यो कदमलाई आँफै बोक्सी आँफै धामीको संज्ञा दिए । उनले महाअभियोग सिफारिश समिति गठन गर्दा समेत चार दलले दादागिरी देखाएको आरोप लगाए । कर्णले महाअभियोग प्रस्ताव पेश गर्ने दलहरुको मात्रै सदस्य रहने समिति भएपछि अनुशन्धान कस्तो हुने भन्ने कुरा स्पष्ट हुने भन्दै उनले प्रश्न तेर्साए । उनले लोकमानलाई आफूहरुले आयोगको प्रमुख नबनाएको बताउँदै भने,‘न हामीले बनायौं, न हामी हटाउँछौं वा लखेट्छौं ।’ उनले लोकमानले के महाअपराध गरेका हुन भन्ने कुरा प्रमाणित हुनुपर्ने समेत बताए ।

उनले मोर्चाले महाअभियोगको प्रस्तावको औचित्य हेर्ने र त्यसपछिमात्रै निर्णय लिने समेत स्पष्ट पारे । उनले प्रश्न गरे,‘लोकमानलाई तर्साएर पछाडि फर्कने काम त कतै हुँदैन, क ठेगान ? ’ कर्णले राज्यले मधेशी मोर्चासँग पटक पटक सम्झौता गरेको भएपनि ती सम्झौताहरु अहिलेसम्म कार्यान्वयन नभएको गुनासो पोख्दै भने,‘राज्यले मोर्चासँग पटक पटक सम्झौता गरेको छ, केवल शक्ति आर्जन गर्नको लागि हो भने त्यो कुरा प्रष्ट रुपमा भन्नुपर्यो, होईन भने सम्झौता किन कार्यान्वयन हुँदैन ?’

मोर्चाले छठसम्म सरकारलाई कुर्ने निर्णय गरिसकेकोले छठसम्म पनि संविधान संशोधन नभए आफूहरु बाध्य भएर सडक आन्दोलनमा होमिने उनको चेतावनी थियो । उनले सरकारले पहिले संशोधनको प्रस्ताव ल्याउनुपर्ने पनि जिकिर गरे । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कर्णले भने,‘हिजो सुनुवाई समिति गठन गर्दा पनि हामीलाई सोधिएन, आज महाअभियोग सिफारिश समिति गठन गर्दा हामीलाई पत्याईएन् ।’

कर्णले अघि थपे,‘प्रस्ताव नल्याउने अनि एमालेलाई देखाएर पन्छिन खोज्नु त भएन नि, यो कुरा हामीलाई मान्य छैन् ।’ उनले प्रस्ताव आएपछि एमाले पनि संशोधनको पक्षमा उभिने विश्वास दिलाए ।

प्रकाशित मिति: Oct 27, 2016

प्रतिक्रिया दिनुहोस्