भारतीय राष्ट्रपति आउँदा सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्दा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले भारतीय र चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्दा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकले थाङकोट– चित्लाङ सडकमार्ग स्तरोन्नोति गर्ने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले घरेलु तथा साना उद्योग विकास समतिको अध्यक्षमा दीपेन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय पनि गरेकाे छ । भारतीय राष्ट्रपतिले यही कात्तिक १७ गतेदेखि नेपाल भ्रमण गर्दैछन् । सरकारको निर्णयअनुसार १७ गते सार्वजनिक बिदा हुनेछ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणबारे भने टुंगो लागेकाे छैन । प्रधानमन्त्री प्रचण्डसँग भारतको गोवामा भएको भेटमा सीले यसवर्ष आफू नेपाल आउन नभ्याउने र अर्को वर्ष पक्का आउने आवस्वासन दिएका थिए ।