Logo
१० माघ २०८१, बिहीबार
(September 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भनिएको संविधान संशोधन प्रस्तावबारे मोर्चामै अन्योल

madheshi-morcha
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएका तीन बुँदे सम्झौता अनुसार संविधान संशोधन तयारी भइरहेको सत्तापक्षले बताइरहेको छ तर त्यसको बारेमा मधेशीका नेताहरु अनभिज्ञ छन् । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले आफ्ना निकटहरुसँग छलफल गरी सविधान संशोधनको प्रस्ताव संसदमा लैजाने तयारीमा जुटेको बेला मधेशी मोर्चाका नेता भने आफूहरुसँग सल्लाहै नगरिकन आउने प्रस्ताव स्वीकार गर्न बाध्य नहुने बताइहेका छन् ।

रोतोपाटीमा पोष्ट गरिएको एउटा समाचार अनुसार  प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि यो एक महिनाभित्र संविधान संशोधनको प्रस्ताव लैजाने भन्दै आएका थिए । तर, उनको प्रतिबद्धता भने हालसम्म पूरा भएको छैन । गत साउन १९ मा प्रधानमन्त्री भएका अध्यक्ष प्रचण्ड गृहकार्य अन्तिमचरणमा पुगेको मधेशी मोर्चाका नेताहरुलाई जनकारी दिएका छन् ।

नागरिकता, भाषा, सिमांकनलगायतको विषयमा आन्तरिक छलफल गरी प्रस्ताव तयार गरिएको बुझिएको छ । विवादीत पाँच जिल्ला कैलाली, कञ्चनपुर, झापा, मोरङ र सुनसरीको बारेमा एउटा आयोग बनाएर टुगों लगाउने तयारी रहेको बुझिएको छ भने भाषा आयोगले दिने प्रतिवेदनमा आधारमा हिन्दी र अंग्रेजी भाषालाई पनि कामकाजको भाषा बनाउने तयारी रहेको बुझिएको छ ।

यद्यपि प्रधानमन्त्री प्रचण्डले कस्तो तयारी तथा गृहकार्य गरिरहेको विषयमा आफूलाई केही थाह नभएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बताउँछन् । उनले आफूले प्रधानमन्त्री प्रचण्डलाई भेटेपनि उनले सविधान संशोधनको प्रस्तावमा गृहकार्य भइरहेको र चाँडै हुने मात्र भनेको बताए ।

मधेशी मोर्चाका नेताहरुसँग छलफल गरि संविधान संशोधनको प्रस्ताव अन्तिमचरणमा रहेको कुरा बाहिर आएपछि मधेशी मोर्चाका नेताहरुबीच अन्योलता देखिएको छ । मधेशी मोर्चाका नेताहरुले प्रधानमन्त्री प्रचण्डले कोसँग छलफल गरेर संशोधन प्रस्ताव ल्याउन लागेको हो भनि एक अर्कालाई सोध्न थालेका छन् ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चाका नेता एवं तराई मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई छुट्टा छुट्टै भेटेर छलफल गरेका छन् । संविधान संशोधनको बारेमा मोर्चाका नेताहरुसँग सामूहिक छलफल भएको छैन ।

भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री प्रचण्डले भदौ २९ गते मधेशी मोर्चा तथा संघीय गठबन्धनका नेताहरुलाई बोलाएर संविधान संशोधन प्रस्ताव किन लग्न सकिएन विषयमा जानकारी गराएका थिए । त्यसबाहेक प्रधानमन्त्री बने यता मधेशी मोर्चासँग कहिल्यै छलफल भएको छैन । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले भने, ‘म पनि सुन्दैछु, संविधान संशोधनको प्रस्ताव पेस गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ रे । त्यो कहाँ पुग्यो, के हुँदैछ त्यसका बारेमा पनि बुझ्दैछु ।’

प्रधानमन्त्री प्रचण्डले सविधान संशोधनको बारेमा को कोसँग छलफल गरे, आफूलाई थाह नभएको बताउँदै अध्यक्ष झाले उनी प्रधानमन्त्री भएपछि एक दिन मात्रै सामुहिक भेटेको बताए । तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले संशोधन प्रस्ताव सबैको सामूहिक छलफलमा जानुपर्ने जोड दिए । कसैले व्यक्तिगत भेटेर प्रधानमन्त्री प्रचण्डलाई सुझा दिन्छन् भने त्यो बेग्लै कुरा हो तर सामूहिक छलफल नगरिकन कुनै निर्णय आयो भने त्यसलाई स्वीकार गर्न सकिँदैन,’ उनले भने ।

प्रकाशित मिति: Sep 24, 2016

प्रतिक्रिया दिनुहोस्