राप्रापा एकीकरणको माग गर्दै हस्ताक्षर बुझाउने तयारी
काठमाडौं । पार्टी एकीकरणका लागि दबाब दिन राप्रपा नेता लोकेन्द्रबहादुर चन्दसहित उनी पक्षीय ४६ जना नेताले अध्यक्ष पशुपति शमशेर राणालाई हस्ताक्षर बुझाउँदै छन् । एकीकरणको तयारी अन्तिम अवस्थामा पुगेपछि राप्रपा अध्यक्ष राणाले एकीकरण अभियानमा नलाग्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएपछि एकीकरण अभियान भाँडिएको थियो ।
उनीहरुले १५ दिनभित्र पार्टी एकीकरण गरिसक्नुपर्ने भन्दै अध्यक्ष राणालाई मंगलबार हस्ताक्षर बुझाउन लागेका हुन् । राप्रपा र राप्रपा नेपालबीच एकीकरणकालागि सैद्धान्तिक सहमति भइसकेको भन्दै तत्काल पार्टी एकीकरण गर्नुपर्ने पक्षमा नेता चन्द र उनी पक्षीय नेता रहेका छन् । चन्द पक्षीय नेताहरु बुद्धिमान तामाङ, तोरन गुरुङ, भुवन पाठक, जयन्त चन्द, राजेश गिरी तथा धनबहादुर बुढालगायतका नेता पार्टी कार्यालय चावहिल पुगेर अध्यक्ष राणालाई पार्टी एकीकरण गर्न दबाब दिन हस्ताक्षर बुझाउने तयारी गरेका हुन् ।