प्रचण्ड मात्र उम्मेद्वार तर सर्वसम्मत नहुने, भोलि मतदान गर्नैपर्ने
काठमाडौं १८ साउन । प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मात्र उम्मेदवारी परेको छ ।एक्लो उम्मेदवार भएपनि माओवादी अध्यक्ष प्रचण्ड सर्वसम्मत प्रधानमन्त्री भने बन्ने छैनन् ।
प्रचण्डको मात्र उम्मेद्वारी परेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । प्रधानमन्त्रीको उम्मेदवार दर्ताका लागि सोमबार विहान ११ बजेदेखि ४ बजेसम्मको समय तोकिएको थियो ।
प्रचण्डले विहान ११ बजेर २५ मिनेटमा समर्थक दलका नेताहरुसहित उम्मेद्वारी दर्ता गरेका थिए । उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थकमा कृृष्णबहादुर महरा, उपेन्द्र यादवसहितका नेताहरु छन् ।
अघिल्लो दिनसम्म अहिले सरकारको नेतृत्व गरिरहेको एमालेले पनि उम्मेदवारी दिने तयारी गरेको थियो । तर, मंगलबार विहान बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेद्वारी नदिने र विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
संसदको नियमावली अनुसार मतदान प्रक्रियामा लैजानुपर्छ । बुधबार विहान ११ बजेको संसद बैठकमा प्रधानमन्त्री पदको निर्वाचन हुनेछ । र, प्रचण्डको उम्मेदवारी प्रस्तुत भएपछि पक्ष-विपक्षमा मतदात हुनेछ ।
संसदमा अहिले ५९५ सांसद छन् र प्रधानमन्त्रीमा निर्वाचित हुन २८८ मत आवश्यक पर्छ । अहिलेसम्मको अवस्था हेर्दा प्रचण्डको पक्षमा ३६६ भन्दा बढी सांसद देखिएका छन् ।
प्रचण्डका समर्थकहरु :
– नेकपा माओवादी केन्द्र कृष्ण बहादुर महरा
-संघिय समाजवादी फोरम नेपाल उपेन्द्र यादव
-मधेशी जनअधिकार फोरम नेपाल योगेन्द्र चौधरी
-राष्ट्रिय प्रजातन्त्र पार्टी परशुराम तामाङ्ग
-तराई मधेश लोकतान्त्रिक पार्टी सर्वेन्द्रनाथ शुक्ला
-सद्भावना पार्टी लक्ष्मणलाल कर्ण
-नेकपा संयुक्त जयदेव जोशी
-थरुहट तराई पार्टी गंगा चौधरी
-संघिय लोकतान्त्रिक मञ्च थरुहट रुक्मिणी चौधरी
-समाजवादी जनता पार्टी प्रेम बहादुर सिँह
-नेपाली जनता दल हरीचरण शाह
-खम्बुवान राष्ट्रिय मोर्चा राम कुमार राई
-अखण्ड नेपाल पार्टी कुमार खड्का
-दलित जनजाती पार्टी यशोदा कुमारी लामा
-जनजागरण पार्टी नेपाल लोकमणी ढकाल
-स्वतन्त्र सभाषद चन्द्रेश्वर झा