दबाव दिए सामुहिक राजीनामा दिने चेतावनी
काठमाडौं । स्थानीय निकायको सीमा निर्धारणका लागि गठित आयोगका अध्यक्ष बालानन्द पौडेलले काम चाँडो सक्न दवाब दिए सबै पदाधिकारीले राजीनामा दिने चेतावनी दिएका छन् ।
आयोगको म्याद फागुन मसान्तसम्म रहेकाले आयोगले त्यहि अनुसार कार्ययोजना बनाएर काम गरिरहेको भन्दै उनले दबाव नदिन आग्रह गरे ।
गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगका अध्यक्ष पौडेलले मंगलबार व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा सो आग्रह गरेका हुन् ।
सरकारले निर्वाचनको घोषणा गर्नुभन्दा पहिले नै आयोगले आफ्नो कार्ययोजना बनाएर काम सुरु गरेको भन्दै उनले सरकारले भनेअनुसार साउन मसान्तसम्म प्रतिवेदन तयार गर्ने अवस्था नरहेको बताए ।
सरकारले आगामी मंसिर महिनामा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । तर त्यसका लागि स्थानीय तहको संख्या यकिन हुन नसक्दा निर्वाचन सम्बन्धी कानून निर्माणको काम नै अगाडि बढ्न सकेको छैन ।