अवरुद्ध मुग्लिन-नारायणगढ सडकमा यातायात सुचारु
चितवन । बिहिबारदेखि नै भारी वर्षापछि खसेको पहिरोले बन्द भएको बाटो मर्मतसँगै सडकमा यतायात सुचारु भएको छ । पहिरोका कारण चितवनको मुग्लिन सडक शुक्रबार दिनभर अवरुद्ध भएको थियो भने दक्षिण माडी, डोरी नारायणगढ सडक बाढीले भत्काएर अवरुद्ध भएको थियो ।
मुग्लिन सडकमा खसेको चार वटा पहिरो पन्छाएर गएरातिबाट सवारी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस्तै माडी, ठोरी नारायणगढ सडक भने साँझ ६ बजेतिर खुलाइएको प्रहरीले जनाएको छ । माडीमा भत्किएको सडक मर्मत गरेर गाडी चलाइएको हो ।
शुक्रबार माडीको खोलामा खतराको बिन्दु नाघेर स्थानीयलाई सतर्क हुन आह्वान गरिएको थियो । तर वर्षा घटेपछि त्राससमेत घटेको छ । यता, मुग्लिन नारायणगढ सडकखण्डअन्तरगत चितवनको चन्डिभञ्ज्याङ गाविस–५ स्थित खहरे खोला नजिक पहिरोसँगै खसेको ढुङ्गा लागेर दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
ढुङ्गा लागेर ट्रकका चालक सुनसरीका उद्धव भुजेल र सहचालक विराटनगरका प्रकाश कोइराला घाइते रहेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।