सरकारको पछिल्लो पत्र सकारात्मक: सदभावना महासचिव
लहान । आन्दोलनरत सङ्घीय गठबन्धनमा आबद्ध सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले सरकारले वार्ताका लागि पछिल्लो पटक आइतबार गठबन्धनको नाममा पठाएको पत्रलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएका छन् ।
महासचिव सुमनले सोमबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सरकारको पत्रलाई सकारात्मक रुपमा लिएकाले अब छिट्टै गठबन्धनको बैठक बसेर यसबारे ठोस धारणा सार्वजनिक गरिने जानकारी दिए ।
सार्थक र परिणाममुखी वार्ताको लागि गठबन्धन तयार रहेको उल्लेख गर्दै महासचिव सुमनले भने,‘गठबन्धन वार्ता र संवादद्वारा नै निकास चाहन्छन्, तर सरकार नै गम्भीर नभएकाले आन्दोलन लम्बिँदै गएको हो ।’