पूर्वराष्ट्रपति यादवको निवास खाली गराउन मुद्दा दायर
काठमाडौं । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई उपलब्ध गराएको घरको बहाल नबुझाएको भन्दै खाली गराउन माग राखेर आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
सरकारले घर बहालवापत मासिक एक लाख ३० हजार रुपैयाँको दरले सात महिनाको भाडा नबुझाएको भन्दै घरधनी रबिभक्त बिष्टले मुद्दा दायर गरेका हुन् ।
बिष्टले घर खाली गर्न नमानेका कारण आफूचाहिँ डेरामा बस्नुपरेको पनि उल्लेख गरेका छन् । ‘बहाल भराई घर खाली गरिपाउँ’ भन्दै दायर भएको मुद्दामा राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन, शीतलनिवास, सरकार र पूर्वराष्ट्रपति यादवलाई प्रतिवादी बनाइएको छ ।
बिष्टले घरबहालवापतको रकम उपलब्ध गराइदिन पटकपटक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा निवेदन दिए पनि सुनुवाइ नभएपछि अदालत गुहारेको बताएका छन् । आजको अ न्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।