निर्दोष नेपालीको हत्या भयो – प्रधानमन्त्री , घाइते भएका पाँच नेपाली दिल्लीमा
काठमाडौ । प्रधानमन्त्री केपी ओलीले अफगानिस्तानमा भएको आतंककारी हमलामा निर्दोष नेपालीको हत्या भएको बताएका छन् । विशेष विमानबाट काठमाडौ ल्याएका मृतकहरुको शब बुझ्न विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले काबुल घटनालाई कायरतापूर्ण भन्दै अहिले सरकारले प्राथमिक काम गरिरहेको बाँकी निर्णयहरु पछि गर्ने बताए ।
प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, श्रममन्त्री दिपक बोहोरा, पर्यटनमन्त्री आनन्द पोखरेल र स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही पनि विमानस्थल पुगेका थिए । उनीहरुले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएका १२ नेपालीको शव सहित २४ जना नेपाल नागरिकलाई लिएर नेपाल एयरलाईन्सको विशेष विमान काठमाडौ आईपुगेको हो । शबहरुलाई सरकारले नै सम्बन्धीत ठाँउमा पुर्याउने तयारी गरिरहेको छ ।
काबुल आक्रमणमा घाइते भएका थप पाँच नेपालीलाई बुधबार भारतको नयाँदिल्लीमा उपचारको लागि लगिएको छ।